विपद्का कारण पाँच स्थानमा सडक अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

डिसी नेपाल
१६ कार्तिक २०८३ ८:१९

काठमाडौं । विपद्का कारण देशका विभिन्न जिल्लाका पाँच स्थानमा सडक तथा पुल अवरुद्ध भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ७ बजेसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको हो ।

प्राधिकरणका अनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरो खसेपछि अवरुद्ध भएको बीपी राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ । कात्तिक १४ गते बिहान ४ः५५ बजेदेखि अवरुद्ध भएको उक्त सडकमा पहिरो पन्छाएपछि एकतर्फी यातायात सञ्चालन गरिएको हो ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती–मान्बु पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । गत असोज २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध रहेको उक्त पुल अझै सञ्चालनमा आउन सकेको छैन ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिका–६ नरपानीमा पहिरोका कारण अवरुद्ध सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड पनि एकतर्फी सञ्चालनमा आएको छ । कात्तिक १५ गते बिहान ४ः१५ बजेदेखि अवरुद्ध भएको सडक पहिरो हटाएपछि आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

यसैगरी, कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोले अवरुद्ध बनाएको कर्णाली राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ । कात्तिक १४ गते बिहान ५ः५५ बजेदेखि अवरुद्ध रहेको उक्त सडकमा यातायात आंशिक रूपमा सञ्चालन भइरहेको छ ।

उता, पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नतिको काम भइरहेकाले सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्राधिकरणले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *