धनुषाको महेन्द्रनगरमा निर्माण भएको आकाशे पुल सञ्चालनको तयारीमा

डिसी नेपाल
१५ कार्तिक २०८३ २१:५६
4
Shares

जनकपुर। जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुल सम्पन्न भएका छन्। निर्माण सम्पन्न भएसँगै रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेकाले यथाशीघ्र सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने गरी तयारी गरिएको हो।

मधेश प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी दुई आकाशे पुल पैदलयात्रीको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ।

सडकमा पैदलयात्रीको अत्यधिक चाप हुने क्षीरेश्वरनाथ–५ स्थित महिला विकास चोक, सखुवा चोक र लक्ष्मीनियाँ गाउँपालिकामा करिब १० करोड ५० लाखको लागतमा तीन वटा आकाशे पुल निर्माणको योजना अघि बढाइएको थियो। तीमध्ये महेन्द्रनगरका दुई वटा पुलको निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए।

उनका अनुसार सोही सडकखण्डअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकामा निर्माण भइरहेको तेस्रो पुलको काम पनि तीव्र गतिमा अघि बढेको छ। उक्त पुलको निर्माण मंसिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। दुई फरक निर्माण कम्पनीमार्फत पुल निर्माण भइरहेको कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयका स्थलगत इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक आकाशे पुलको उचाइ पाँच दशमलव छ मिटर, लम्बाइ २९ दशमलव चार मिटर र चौडाइ तीन मिटर रहेको छ। पुल सञ्चालनमा आएपछि पैदलयात्रीले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशे पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम न्यूनीकरण हुने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *