कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैन : मुख्यमन्त्री शाही

डिसी नेपाल
१५ कार्तिक २०८३ २१:४४

काठमाडौं। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले उत्कृष्ट खेलाडी छानेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सामु प्रतियोगिता जटिल चुनौती र स्वर्णिम अवसर दुवै भएको बताएका हुन्। उनका अनुसार यसलाई सबै मिलेर चुनौतीको सामना तथा अवसरको उपयोग गर्न एकजुट भएर अगाडि बढ्नुपर्छ।

मुख्यमन्त्री शाहीले भने, “तपाईँहरू निष्पक्ष भएर राम्रा खेलाडी छनोट गर्नुस्। राम्रा प्रशिक्षक ल्याउनुस् र पदक जित्ने तयारीमा लाग्नुस्, बजेटको कुनै समस्या हुँदैन। माग भन्दा बढी बजेट दिन प्रदेश सरकार तयार छ।”

दशौँ राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि प्रदेश सरकार, परिषद् वा सरकारी निकायले मात्र सम्भव नभएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको मुख्यमन्त्री शाहीले औँल्याए। प्रतियोगिताको आयोजक संघीय सरकार भए पनि कर्णाली प्रदेशमा हुने भएकाले कुनै कमीकमजोरी नहुने गरी सबै निकायबीच समन्वय हुनुपर्ने भनाइ राख्दै उनले अब पनि प्रतियोगिता स्थगित हुन्छ की भनेर आशंका नगर्न सबैलाई अपिल गरे।

छलफलमा प्रदेशका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चारवटै उपसमितिले हालसम्म सन्तोषजनक कामहरू गरेको धारणा राखेका छन्।

“बाँकी उपसमितिले के-कति काम गरिरहेका छन्। त्यसमा हाम्रो पनि चासो छ”, उनले भने, “प्रतियोगिता व्यवस्थापनको ठूलो जिम्मेवारी हाम्रो काँधमा आएकाले कुनै कसर बाँकी नराखी काम गरौँ।”

छलफल कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटेल व्यवसायी महासंघका पदमबहादुर शाही, तर्कबहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष मधुवन बिसीलगायतले सुझाव दिएका थिए। प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *