गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

डिसी नेपाल
१५ कार्तिक २०८३ १७:४८

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।

नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सरकारले पछिल्लो समय गरेका केही निर्णय र देशमा भएका घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

‘सरकारले गरेका पछिल्ला निर्णय र देशमा घटेका घटनाले गम्भीर प्रश्न जन्माएका छन् । लोकतन्त्र, नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको विषयमा सरकारले सीमा नाघ्छ भने नेपाली कांग्रेस चुप लागेर बस्दैन । हामी सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षणका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ,’ थापाले भने ।

पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन, परिणाम चाहिन्छ

सभापति थापाले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए । उनले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाले मुलुकमा शाही शासनकालमा सञ्चारमाध्यममाथि गरिएको हस्तक्षेपको स्मरण गराएको टिप्पणी गरे ।

उनका अनुसार सञ्चारमाध्यममा प्रहरी परिचालन र पत्रकार पक्राउको घटनाले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ । त्यसमा प्रहरीका तर्फबाट आएका फरक–फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले झन् अन्योल सिर्जना गरेको उनको भनाइ थियो ।

थापाले घटनालाई सामान्य वक्तव्य जारी गरेर टुंग्याउन नहुने भन्दै त्यसको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरे । पत्रकार पक्राउ गर्न कसले आदेश दिएको थियो, कुन कानुनका आधारमा पक्राउ गरिएको थियो र त्यसमा को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।

‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ उनले भने, ‘किन भयो, कसले ग¥यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ ।’

उनले घटनाबारे औपचारिक धारणा सार्वजनिक गर्नु मात्रै पर्याप्त नहुने भन्दै जिम्मेवार व्यक्तिको पहिचान र आवश्यक कारबाहीमार्फत सरकारले आफ्नो जवाफदेहिता प्रमाणित गर्नुपर्नेमा जोड दिए ।

सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हुन सक्दैन

सभापति थापाले सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्ने भन्दै राज्य सञ्चालनमा व्यक्तिगत इच्छा र आदेशलाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुने बताए ।

राज्यका निकाय कुनै व्यक्ति वा सरकारमा रहेका पदाधिकारीका निजी आदेश पालना गर्ने संस्था नभएको उनको भनाइ थियो । कानुनी शासनमा राज्यका सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले शक्तिको स्वेच्छाचारी प्रयोग स्वीकार्य नहुने बताए ।

‘सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्छ, सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हो भन्ने सोच लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था होइनन्,’ उनले भने ।

उनले सरकारको कामकारबाहीमा कानुनी प्रक्रिया, संस्थागत मर्यादा र नागरिक अधिकारको सम्मान अनिवार्य हुनुपर्ने बताए । सरकारका राम्रा कामको जस लिने, गलत कामको जिम्मेवारीबाट पन्छिन मिल्दैन- उनले भने ।

थापाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकामाथि पनि प्रश्न उठाए । सरकारले गरेका राम्रा कामको श्रेय पार्टीले लिने तर विवादित र गलत कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

सरकारको नेतृत्व गर्ने दलले सरकारका निर्णय र गतिविधिको राजनीतिक जिम्मेवारी लिनुपर्ने भन्दै उनले सरकारका कामलाई आफ्नो अनुकूलताअनुसार मात्रै पार्टीसँग जोड्न नमिल्ने बताए ।

‘अर्को कुरा, सरकारले गरेका राम्रा कामको जस लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट कुनै पनि दललाई हुँदैन । सरकारको नेतृत्व गर्ने दलले सरकारका कामको राजनीतिक जिम्मेवारी लिनुपर्छ,’ थापाले भने ।

उनले सरकारको सफलता र असफलता दुवैको राजनीतिक जवाफदेहिता सत्तारूढ दलसँग जोडिने स्पष्ट पारे ।

सरकारी कर्मचारी पक्राउ प्रकरणमा पनि प्रश्न

सभापति थापाले सरकारी कर्मचारीलाई प्रहरी लगाएर कार्यस्थलबाटै पक्राउ गरी प्रधानमन्त्री कार्यालय पु¥याइएको घटनामाथि पनि प्रश्न उठाएका छन् ।

कर्मचारीले गल्ती गरेको भए त्यसको अनुसन्धान र कारबाही प्रचलित कानुन तथा स्थापित संस्थागत प्रक्रियाअनुसार हुनुपर्ने उनको भनाइ थियो । राज्यका निकाय र प्रशासनिक संरचनाले अवलम्बन गर्दै आएका प्रक्रिया मिचेर प्रहरी परिचालन गरी कर्मचारीलाई पक्राउ गर्नु उचित नहुने उनले बताए ।

कानुनी शासनमा कसैले पनि कानुनभन्दा माथि रहेर काम गर्न नपाउने उल्लेख गर्दै थापाले सरकारका हरेक गतिविधि विधि र प्रक्रियासम्मत हुनुपर्नेमा जोड दिए ।

उनले समग्रमा सरकारको कार्यशैलीमा देखिएको स्वेच्छाचारिताप्रति कांग्रेसको असहमति रहेको स्पष्ट पार्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको रक्षाका लागि प्रतिपक्षले निरन्तर निगरानी तथा खबरदारी गर्ने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *