बाबुरामको चेतावनी : देश ठूलो संकटतिर उन्मुख, ‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’

डिसी नेपाल
१५ कार्तिक २०८३ १३:३१

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देश तीव्र गतिमा ठूलो संकटतिर उन्मुख भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत समसामयिक विषयमा निरन्तर विचार प्रस्तुत गर्दै आएका भट्टराईले पछिल्लो राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिको विश्लेषण गर्दै सबै क्षेत्रलाई जिम्मेवार बन्न आग्रह गरेका हुन्।

देशमा बढ्दो भूराजनीतिक चलखेल, सत्ताधारी र प्रतिपक्षी दलहरूभित्र चर्कँदै गएको आन्तरिक अन्तरसंघर्ष, र राज्यका प्रमुख अंगहरूको अस्तव्यस्ततालाई उनले संकटका मुख्य कारकका रूपमा औंल्याएका छन्।

विशेषगरी न्यायालय, निजामती प्रशासन र प्रहरी संगठनजस्ता राज्यका आधारस्तम्भहरूमा देखिएको अन्योल र विचलनले मुलुकलाई थप कमजोर बनाएको उनको ठम्याइ छ।

यसैगरी, निरन्तर ओरालो लागिरहेको राष्ट्रिय अर्थतन्त्र, थपिँदो प्राकृतिक प्रकोपको भार, युवा वर्गको तीव्र विदेश पलायन, अनि सार्वजनिक सञ्चारमाध्यम र नागरिक वृत्तमा व्याप्त चुलिँदो निराशाले देशलाई गम्भीर दुर्घटनातर्फ ढकेलिरहेको उनले उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले चेतावनी दिएका छन्, “अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्नै सक्दैन! सबै आ-आफ्नो क्षेत्रबाट गम्भीर बनौँ। सक्छौँ, सकारात्मक योगदान गरौँ; सक्दैनौँ भने नकारात्मक काम नगरौँ।”

बालेन सरकारप्रति लचिलो र ‘राष्ट्रपति’ दाउको चर्चा

विचार र प्रणालीमा निरन्तर बहस गर्न रुचाउने डा. भट्टराई पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति तुलनात्मक रूपमा सकारात्मक र लचिलो देखिँदै आएका छन्। पुराना र परम्परागत दलहरूको कार्यशैलीको तिखो आलोचना गर्दै आएका उनले नयाँ राजनीतिक नेतृत्व र प्रशासनिक सुधारका प्रयासहरूलाई समर्थन गर्दै आएका छन्।

तर, भट्टराईको यो शैली र बालेन सरकारप्रतिको सकारात्मक दृष्टिकोणलाई राजनीतिक वृत्तमा फरक ढङ्गले पनि विश्लेषण गर्न थालिएको छ। कतिपय विश्लेषक तथा आलोचकहरूले उनले पछिल्लो समय अपनाएको यो सन्तुलित र सर्वस्वीकार्य बन्ने प्रयासलाई ‘भावी राष्ट्रपति’ बन्ने रणनीतिक दाउका रूपमा समेत टिप्पणी गर्ने गरेका छन्।

देशमा सिर्जित संकट, राजनीतिक शक्तिहरूबीचको अविश्वास र राज्यका अंगहरूमा छाएको निराशाका बिच भट्टराईले दिएको यो अभिव्यक्तिलाई केवल राजनीतिक वक्तव्य मात्र नभई राष्ट्रिय सहमति र सुधारका लागि गरिएको गम्भीर आह्वानका रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *