पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको फड्को: १९ अर्ब नाघ्यो खुद नाफा

डिसी नेपाल
१५ कार्तिक २०८३ १४:०३
4
Shares

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा उल्लेख्य सुधार आएको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले करिब १३ अर्ब रुपैयाँ खुद नाफा कमाएका थिए।

कमाउनेमा नबिल, वृद्धिदरमा एनआईएमबी अगाडि

समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। नबिलले गत वर्षको तुलनामा ४५.४२ प्रतिशतले नाफा बढाउँदै २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। बैंकको नाफा २४.४८ प्रतिशतले बढेको हो। राष्ट्रिय वाणिज्य बैंकले १७५.५२ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएर तेस्रो स्थान हासिल गरेको छ।

नाफाको आकारमा नबिल बैंक पहिलो भए पनि नाफाको वृद्धिदरमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सबैभन्दा अगाडि देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ मात्र नाफा कमाएको एनआईएमबीले यस वर्ष २५२२.४६ प्रतिशतको फड्को मार्दै १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा पुर्‍याएको छ।

अरू बैंकको प्रदर्शन र घाटाबाट तंग्रिएको सिटिजन्स

चालु आवको पहिलो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख, प्राइम बैंकले १ अर्ब १८ करोड ७६ लाख, एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। सानिमा बैंकको नाफा १३१.१३ प्रतिशतले बढेको छ।

एक अर्ब रुपैयाँभन्दा कम नाफा कमाउने बैंकहरूमा सिद्धार्थ बैंक (८५ करोड १५ लाख), नेपाल बैंक (८३ करोड २१ लाख), स्ट्याण्डर्ड चार्टर्ड बैंक (६७ करोड १४ लाख), हिमालयन बैंक (६५ करोड ४८ लाख), लक्ष्मी सनराइज बैंक (६५ करोड ३३ लाख), प्रभु बैंक (६० करोड ३७ लाख), नेपाल एसबिआई बैंक (५५ करोड २२ लाख) र माछापुच्छ्रे बैंक (५५ करोड ११ लाख) रहेका छन्। सिद्धार्थ बैंकको नाफा १६२.७५ प्रतिशत र लक्ष्मी सनराइजको ९६.६० प्रतिशतले बढेको छ।

एनआईसी एशिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उता, गत वर्ष पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक भने यस वर्ष १० करोड ७७ लाख रुपैयाँ नाफा कमाउँदै पुनरागमन गर्न सफल भएको छ।

तीन बैंकको नाफामा गिरावट

समग्रमा वाणिज्य बैंकहरूको नाफामा सुधार देखिए पनि समीक्षा अवधिमा तीन बैंकको नाफामा भने गिरावट आएको छ। हिमालयन बैंकको खुद नाफा ६.८३ प्रतिशतले घटेर ६५ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै प्राइम बैंकको नाफा ५.६२ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशतले घटेर ६७ करोड १४ लाख रुपैयाँ कायम भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *