डा. सुरेन्द्र केसी भन्छन्-कुनैपनि राजनीतिक दलको सदस्य नभएर ठूलो गल्ती गरें

डिसी नेपाल
१५ कार्तिक २०८३ १३:१६
8
Shares

काठमाडौँ । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताएका छन्।

राजधानी काठमाडौँमा आइतबार आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले साहित्यिक क्षेत्रले सामाजिक तथा राष्ट्रिय रूपान्तरणमा योगदान पु¥याउनुपर्ने धारणा राखे।

‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बोल्दै उनले भने, “लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्छ। साहित्य केवल सिर्जनामा मात्र सीमित नभई यसले समाज र राष्ट्रको रूपान्तरणमा पनि योगदान दिन सक्नुपर्छ। देशमा देखिएका विकृति, विसङ्गति र नागरिकका निराशालाई लेखनमार्फत उजागर गर्दै सुधारका लागि आवाज उठाउनुपर्छ। लेखकहरूले आफ्नो सिर्जनामार्फत समाजमा सकारात्मक सोच र परिवर्तनको सन्देश दिन सक्नुपर्छ।”

उनले नेपालमा सीमित व्यक्तिहरूले मात्रै पटक-पटक विभिन्न अवसर र जिम्मेवारी पाउने ‘रेडिमेड’ प्रवृत्ति रहेको उल्लेख गर्दै योग्यताका आधारमा सबैले अवसर पाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएकै कारण अवसरहरूबाट वञ्चित हुनुपरेको अनुभवसमेत उनले सुनाए।

आफूले न्यूनतम २५ देखि २८ वटा पुस्तक लेखेको, विद्यावारिधि गरेको, चार हजारभन्दा बढी लेख तथा रचना प्रकाशित गरेको र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएको उल्लेख गर्दै केसीले आफ्नो पहिचान स्वतन्त्र लेखन र अभिव्यक्तिसँग जोडिएको स्पष्ट पारे। उनले पुरस्कार, सम्मान तथा अवसर वितरणमा निष्पक्षता र योग्यतालाई प्राथमिकता दिनुपर्ने र योग्य व्यक्तिलाई उचित स्थान दिइएमा समाजले स्वतः सम्मान गर्ने बताए।

गौतम बुद्धले दिएको शान्ति र सहअस्तित्वको दर्शनलाई स्मरण गराउँदै उनले वर्तमान समाजमा शान्ति, सहिष्णुता र सद्भावको आवश्यकता औँल्याए। समाजमा न्याय, प्रहरी, राजनीति तथा अन्य सार्वजनिक संस्थाप्रति असन्तुष्टि बढिरहेको उल्लेख गर्दै यस्ता विषय साहित्य र लेखनमा पनि प्रतिबिम्बित हुनुपर्ने उनको भनाइ थियो।

इन्फिनिटी सर्भिसेज प्रालिकी संस्थापक शीतल खड्का तथा टोलीको नेतृत्वमा भएको सो कार्यक्रममा नेपालसहित भारत, संयुक्त राज्य अमेरिका, सिङ्गापुर, फिजी, क्यानडा, बङ्गलादेश र संयुक्त अरब इमिरेट्स (दुबईसहित) का ४५ जना लेखक तथा प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सो अवसरमा विभिन्न विधामा अवार्डसमेत वितरण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *