रास्वपा सचिवालय बैठकका चार निर्णय सार्वजनिक

डिसी नेपाल
१४ कार्तिक २०८३ २१:३५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका अवाञ्छित गतिविधिको निष्पक्ष छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई जोडदार निर्देशन दिएको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक, साङ्गठनिक तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषयमा महत्त्वपूर्ण चारवटा निर्णयहरू सार्वजनिक गरेको छ।

बैठकले गत कात्तिक १३ गते सञ्चार क्षेत्रमा प्रहरी प्रशासनबाट भएका भनिएका गतिविधिहरू नेपालको संविधान र पार्टीको मूल आदर्श विपरीत रहेको निष्कर्ष निकालेको छ। लोकतान्त्रिक प्रणाली, बहुलवाद, नागरिक अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतान्त्रिक मूल्यमान्यतामा पार्टीले कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दै रास्वपाले त्यस्ता गैरजिम्मेवार गतिविधिमा संलग्न जिम्मेवार व्यक्तिहरूको पहिचान गरी छानबिन गर्न माग गरेको छ।

त्यसैगरी, बैठकले न्यायालयभित्र देखिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनालाई विधिसम्मत रूपमा निरूपण गर्न संसद्बाट निर्णायक कदम चाल्न आफ्नै संसदीय दललाई कدة निर्देशन दिएको छ। यस्ता घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको उल्लेख गर्दै रास्वपाले न्यायपालिकाको शुद्धीकरण तथा जवाफदेहिताको एजेन्डालाई यसले थप पुष्टि गरेको ठहर गरेको छ।

साङ्गठनिक सुदृढीकरणतर्फ केन्द्रित हुँदै बैठकले मधेस प्रदेशमा पार्टी सङ्गठनलाई थप गतिशील बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको ‘मधेस प्रदेश सङ्गठन अडिट प्रतिवेदन, २०८३’ विस्तृत रूपमा अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई सुम्पिएको छ। सो प्रतिवेदनमा समेटिएका सिफारिसहरूलाई औचित्य र आवश्यकताका आधारमा क्रमिक रूपमा कार्यान्वयनमा लैजाने निर्णय समेत बैठकले गरेको छ।

अन्तर्राष्ट्रिय सम्बन्धको पाटोमा, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाको एक प्रतिनिधिमण्डल आगामी कात्तिकको अन्तिम साता चीन भ्रमणमा जाने निर्णय भएको छ। दुई देशबीचको पारस्परिक राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तथा सुदृढ बनाउने उद्देश्यले उक्त भ्रमण आयोजना गरिएको पार्टीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *