तनहुँको भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण: स्थानीय उत्पादनले आयात विस्थापित गर्दै
दमौली (तनहुँ)। तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।
स्थानीयस्तरमै व्यावसायिक रूपमा फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको निर्भरता घट्दै गएको छ भने आत्मनिर्भरताको ढोका खुल्दै गएको छ। यद्यपि, उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने शीतभण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ।
भिमाद नगरपालिका-५ र ६ का विभिन्न स्थानमा किसानहरू विशेषगरी तिहार पर्वलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन्। स्थानीय माटोमा ढकमक्क फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले किसानका बारीमात्रै सजाएका छैनन्, स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूर्ण रूपमा धान्न सकिने बलियो सम्भावना समेत देखाएका छन्।
भिमाद नगरपालिका-६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूलको व्यावसायिक खेती गरेका छन्। उनीहरूले जनही दुई-दुई रोपनी क्षेत्रफलमा फूलखेती फैलाएका छन्।
स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ। नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले किसानलाई फूलखेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताइन्।
स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमा निर्भरता घट्नुका साथै स्थानीय किसानको आम्दानी बढाउन सकिने अपेक्षा गरिएको उनको भनाइ छ।
फूलखेतीमा आकर्षण बढे पनि उत्पादित फूलको व्यवस्थापन र बजारीकरण भने चुनौतीपूर्ण बन्दै गएको किसान बालकृष्ण गैह्रेले बताए। चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम हुने र फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उचित व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता थपिएको उनको भनाइ छ।
सयपत्री फूल लामो समयसम्म ताजा राख्न आवश्यक चिस्यानयुक्त भण्डारण (कोल्ड स्टोरेज) सुविधा नहुँदा बजारमा माग र आपूर्तिबीचको तालमेल मिलाउन कठिन भएको किसान बद्रीनाथ गैह्रेले बताए।
उनको भनाइ छ, “यहाँ उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूलखेती गर्न प्रेरणा मिल्नेछ।” रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment