अनुमतिविना उपल्लो डोल्पा पुगेका ६ भारतीय पर्यटक हिमपातमा अलपत्र, उद्धारमा कठिनाइ

डिसी नेपाल
१६ कार्तिक २०८३ ७:०८
12
Shares

सुर्खेत। प्रशासनिक अनुमति नलिई र नियमित पदमार्ग छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक भारी हिमपातका कारण हिमाली क्षेत्रमा अलपत्र परेका छन्। शे-फोक्सुण्डो गाउँपालिका-४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको अझै उद्धार हुन सकेको छैन।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार गत कात्तिक १४ गते उनीहरू हिमाली क्षेत्रमा फसेको खबर प्राप्त भएको थियो। डोल्पोबुद्ध गाउँपालिकाको धोबाट शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित प्रसिद्ध फोक्सुण्डो तालतर्फ फर्कने क्रममा दुई महिला र चार पुरुष गरी छ जना भारतीय पर्यटक हिमपातमा परेका हुन्। सल्दाङ र वडा नम्बर ८ को बीचमा पर्ने दानिगढ क्षेत्रमा बाक्लो हिउँ जमेपछि उनीहरूको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

अलपत्र पर्ने भारतीय पर्यटकहरूमा मौमिता हल्दार, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, दिपलीना बिस्वास र राजेश दे रहेका छन्।

हेलिकप्टरमा प्राविधिक समस्या, उद्धारमा ढिलाइ

हिमपातमा फसेका पर्यटकको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी गरिए पनि सुर्खेतस्थित सेनाको हवाई बेसमा रहेको हेलिकप्टरमा प्राविधिक समस्या आएकाले उद्धारमा ढिलाइ भएको छ। सुर्खेतमा निजी क्षेत्रका हेलिकप्टर समेत उपलब्ध नभएकाले तत्काल वैकल्पिक व्यवस्था गर्न कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो।

मौसमको चेतावनी र स्थानीय सुझावको बेवास्ता

जिल्ला प्रशासन कार्यालयका अनुसार ती भारतीय पर्यटकहरूले आवश्यक प्रशासनिक अनुमति नलिई र तोकिएको नियमित पदमार्ग समेत प्रयोग नगरी वैकल्पिक तथा जोखिमपूर्ण बाटो रोजेका थिए।

मौसम प्रतिकूल रहेको र भारी हिमपातको जोखिम उच्च रहेकाले हिमाली क्षेत्रतर्फ नजान स्थानीय प्रशासन र स्थानीयबासीले दिएको सुझावलाई बेवास्ता गर्दै यात्रा अघि बढाउँदा उनीहरू जोखिममा परेका हुन्। उपल्लो डोल्पाका दुर्गम हिमाली क्षेत्रमा सञ्चार सम्पर्क समेत कमजोर हुने भएकाले नियमित पदमार्गभन्दा फरक बाटो प्रयोग गर्दा आपत्कालीन उद्धार र समन्वयमा थप जटिलता थपिएको छ।

२४४ पर्यटकमध्ये ६ जना भारतीय अलपत्र

प्रशासनको विवरणअनुसार हाल उपल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा नेपाली १४९, सार्क मुलुकका ४४ र अन्य विदेशी ५१ गरी कुल २४४ जना पर्यटक भ्रमणमा छन्। हिमपातमा फसेका छ जना भारतीय पनि यही टोलीभित्रका हुन्।

शे–फोक्सुण्डो ताल, हिमाली भूगोल र बौद्ध संस्कृतिका कारण उपल्लो डोल्पा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि दुर्गम भूगोल र आपत्कालीन उद्धारको पर्याप्त तयारी नहुँदा पर्यटकको सुरक्षामा पटक-पटक चुनौती खडा हुने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *