तत्काल संसद अधिवेशन आह्वान र उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसको माग

डिसी नेपाल
१६ कार्तिक २०८३ १२:०६
16
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकमा देखिएका समसामयिक विवादित घटनाक्रमहरू र बिचौलिया प्रकरणको निष्पक्ष अनुसन्धानका लागि तत्काल संसद अधिवेशन आह्वान गर्न सरकारसँग जोडदार माग गरेको छ।

सोमबार सिंहदरबारस्थित कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘इनम सापकोटा प्रकरण’ लगायतका घटनामा प्रधानमन्त्री, न्यायपालिका र नेपाल प्रहरीका उच्च निकायहरूसमेत मुछिएकाले यसको सत्यतथ्य छानबिनका लागि संसद बैठक अनिवार्य भएको बताए।

उनले भने, “बिचौलियाको विषयमा प्रधानमन्त्री, न्यायालय र प्रहरीहरू समेत मुछिएको तथा आरोपित भएको अवस्था छ। यसको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ, हामीलाई यसमा गम्भीर शंका छ। त्यसैले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नका लागि तत्काल संसद् बैठक बोलाइनुपर्छ। यस विषयमा अन्य विपक्षी दलका नेताहरूसँग पनि आवश्यक छलफल गर्ने तयारी भइरहेको छ।”

यसैगरी, नेपाली कांग्रेस संसदीय दलले हालै भएका पत्रकार धरपकड लगायतका विवादित विषयहरूमाथि छानबिन गर्नका लागि छुट्टै ‘संसदीय विशेष समिति’ गठन गर्नुपर्ने निर्णयसमेत गरेको छ।

बैठकले पछिल्ला सरकारी गतिविधिहरूले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक अङ्गहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको ठहर गरेको छ।

पत्रकार पक्राउ तथा धरपकडका घटनाप्रति कडा आपत्ति जनाउँदै नेता आङ्देम्बेले स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति विना नै समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र स्वेच्छाचारिता भएको टिप्पणी गरे। यसको चित्तबुझ्दो जवाफ सरकारले दिनुपर्ने कांग्रेसको भनाइ छ।

जनसरोकारका विषय र सुशासनका सन्दर्भमा सरकारले गर्ने सकारात्मक कार्यमा सहयोग रहने भए पनि लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सरकार अघि बढेमा सशक्त विरोध गर्ने चेतावनी कांग्रेसले दिएको छ।

न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण रहनुपर्नेमा जोड दिँदै कांग्रेसले सरकारको वर्तमान कार्यशैलीले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफू अनुकूलको शासन स्थापित गर्ने सुनियोजित प्रयत्न भइरहेको आरोप लगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *