विराटनगरमा तोमनाथ उप्रेतीको समालोचनात्मक कृति ‘अक्षरभित्र चिन्तन’ दोस्रोपटक विमोचित
विराटनगर। साहित्यकार तथा समालोचक तोमनाथ उप्रेतीद्वारा लिखित समालोचनात्मक कृति ‘अक्षरभित्र चिन्तन’ को विराटनगरमा दोस्रोपटक स्थानीयस्तरमा विमोचन गरिएको छ।
आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित एक विशेष समारोहमा कोशी प्रदेश सभाका सदस्य भीम पराजुलीले उक्त कृतिको विमोचन गर्नुभएको हो। यसअघि नै विमोचन भइसकेको यस कृतिलाई स्थानीय साहित्यिक समुदाय र पाठकहरूसामु पुनः परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
रतुवामाई समाज, विराटनगरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य गणेश उप्रेती ‘सुशील’ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
समाजका अध्यक्ष विष्णुराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा आदर्श माध्यमिक विद्यालय तथा सौंठा माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं रतुवामाई समाजका संस्थापक अध्यक्ष रमानाथ भट्टराई, साहित्यकार, बुद्धिजीवी, समाजका सल्लाहकार, कार्यसमिति सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम
दिपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ लगायतका पर्वहरूको अवसर पारेर शुभकामना आदानप्रदानसहित आयोजित सोही कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय, मोरङबाट मोरङबाट उदयपुर सरुवा भई जान लागेका कृतिकार उप्रेतीको सम्मानमा ‘फेरि भेटौँला’ नामक बिदाइ कार्यक्रमसमेत गरिएको थियो।
साहित्यिक सिर्जना, सामाजिक आत्मीयता र राष्ट्रसेवाको अनुभवलाई एउटै मञ्चमा जोड्दै आयोजित उक्त समारोहले साहित्य र सामाजिक सम्बन्धबीचको अन्तरसम्बन्धलाई समेत उजागर गरेको छ।
कार्यक्रमका वक्ताहरूले नेपाली साहित्यको विकासमा सिर्जनासँगै समालोचनाको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।
प्रमुख अतिथि भीम पराजुलीले साहित्यिक कृतिको गम्भीर अध्ययन र विवेकपूर्ण मूल्याङ्कनले साहित्यिक क्षेत्रको गुणात्मक विकासमा योगदान पुर्याउने उल्लेख गर्दै साहित्य समाजको चेतना, संस्कृति र जीवनअनुभूतिको अभिव्यक्ति भएको बताए।
विशिष्ट अतिथि गणेश उप्रेती ‘सुशील’ ले स्थानीयस्तरमा सिर्जना भएका साहित्यिक कृतिहरूको अध्ययन र अभिलेखीकरणले क्षेत्रीय साहित्यिक पहिचानलाई राष्ट्रिय परिदृश्यमा स्थापित गर्न सहयोग पुग्ने विचार व्यक्त गरे।
त्यस्तै, संस्थापक अध्यक्ष रमानाथ भट्टराईले समालोचना प्रशंसामा मात्र सीमित नभई सिर्जनाभित्रका विचार, कलात्मक पक्ष र सामाजिक सन्देशको गहन अन्वेषण गर्नुपर्नेमा जोड दिए। अध्यक्ष विष्णुराज लामिछानेले साहित्यिक तथा सामाजिक गतिविधिमार्फत बौद्धिक चेतना र आपसी सद्भाव सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको बताए।
‘अक्षरभित्र चिन्तन’ र कृतिको साङ्गोपाङ्गो विमर्श
तोमनाथ उप्रेतीद्वारा लिखित ‘अक्षरभित्र चन्तन’ नेपाल साहित्यका विविध विधामा प्रकाशित कृतिहरूमाथि गरिएको समालोचनात्मक अध्ययनको सङ्ग्रह हो। विराटनगरलाई कर्मभूमि बनाएर साहित्यसाधनामा सक्रिय विभिन्न स्रष्टाका कविता, खण्डकाव्य, कथा, मुक्तक, हाइकु, उपन्यास तथा नाटकलगायतका कृतिहरूलाई यसमा समेटिएको छ। यस सङ्ग्रहले स्थानीय साहित्यिक सिर्जनालाई व्यापक नेपाली साहित्यिक परिप्रेक्ष्यमा राखेर अध्ययन गर्ने प्रयास गरेको छ।
कृतिको मुख्य विशेषता साहित्यलाई मनोरञ्जन र भावनात्मक अभिव्यक्तिको सीमाभित्र मात्र नराखी सामाजिक यथार्थ, मानवीय संवेदना, जीवनदर्शन, वर्गीय असमानता, सांस्कृतिक चेतना र सामाजिक रूपान्तरणका प्रश्नसँग जोडेर विश्लेषण गर्नु रहेको छ।
सङ्ग्रहमा सीमा आभासको ‘महायुग’, छवि वैरागी घिमिरेको ‘विविशारा’, उमेश लुइटेलको ‘आगो खरानी जान्दैन’, बाबुराम पोखरेलको ‘गोलढुङ्गा’, मधु पोखरेलको ‘क्वाँटी’, अर्जुन नेपालको ‘सीमा’, भवानीप्रसाद पोखरेलको ‘कथा र अनुभूति’, लोचन रिजालको ‘भोगाइ’ र हरिप्रसाद अधिकारीको ‘चारमन दाउरा’ जस्ता कृतिमाथि समीक्षा गरिएका छन्।
यसैगरी, चन्द्रकान्त भट्टराईको ‘वसन्तको पालुवा’, नानुमैया दाहालको ‘खुला आकाशमुनि’, अम्बिका खरेल उप्रेतीको ‘अन्धकारमा जून’, हेमसागर पोखरेलको ‘प्रिय हिमाल’, शैलेन घिमिरेको ‘अनुभूतिका रङहरू’, नेत्र खतिवडाको ‘ढुङ्गो फुलेपछि’, सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ तथा भीम केइरालाको ऐतिहासिक उपन्यास ‘महारानी देवलदेवी’ माथिका समीक्षाले मध्यकालीन नेपालको राजनीतिक परिवेश, शक्ति सम्बन्ध र ऐतिहासिक चेतनाका पक्षलाई उजागर गरेका छन्।
समालोचनात्मक दृष्तिकोण र साहित्यिक संस्कार
उप्रेतीको समालोचनात्मक दृष्टिकोणको महत्त्वपूर्ण पक्ष कृतिको मूल्यांकनमा व्यक्तिगत आग्रह, पूर्वाग्रह र लेखकको प्रतिष्ठाभन्दा पाठगत प्रमाण, ऐतिहासिक सन्दर्भ र कलात्मक संरचनालाई प्राथमिकता दिनु हो।
उनका समीक्षाले समालोचनालाई प्रशंसा वा निन्दाको औपचारिक अभ्यासबाट माथि उठाएर कृतिका सबल पक्ष, अन्तर्विरोध र सामाजिक अर्थको खोजी गर्ने बौद्धिक प्रक्रियाका रूपमा प्रस्तुत गरेका छन्।
कार्यक्रमले साहित्यिक विमर्शसँगै सरुवा भई उदयपुर जान लाग्नुभएका उप्रेतीलाई शुभकामना तथा बिदाइ गर्दै राष्ट्रसेवा र साहित्यिक साधनालाई समानान्तर रूपमा अघि बढाइरहनुभएका उहाँको आगामी कार्यकालको सफलताको कामनासमेत गरेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment