अमेरिकामा ह्यालोविन विकेन्डका क्रममा विभिन्न शहरमा गोलीकाण्ड: ६ जनाको मृत्यु, दर्जनौँ घाइते

डिसी नेपाल
१६ कार्तिक २०८३ १३:०४
60
Shares

काठमाडौं । अमेरिकामा ह्यालोविन विकेन्डको उत्सव मनाइरहँदा देशका विभिन्न शहरहरूमा भएका गोलीकाण्डका घटनाहरूले त्रास फैलाएको छ। अमेरिकाका धेरै शहरका नाइटलाइफ (रात्रिकालीन जीवन) हुने इलाकाहरूमा भएका गोलीबारीमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी मानिस घाइते भएका छन्। प्रहरीले घटनाहरूको अनुसन्धान गरिरहेको छ र धेरै संदिग्धहरूलाई नियन्त्रणमा लिएको छ।

सबैभन्दा धेरै हिंसा टेक्ससको डलासमा भएको छ। प्रहरीका अनुसार शहरको ‘डिप एलम’ इलाकामा भएको गोलीबारीमा परी चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। डिप एलम क्षेत्र सङ्गीत, रेस्टुरेन्ट र रात्रिकालीन जीवनका लागि परिचित स्थान हो।

डलास प्रहरी प्रमुख ड्यानियल कोमोक्सले शनिबार राति भएका तीन फरक-फरक गोलीकाण्डका घटनाहरू आपसमा जोडिएका छन् कि छैनन् भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्। उनले पक्राउ परेका व्यक्तिहरूसँग गहन सोधपुछ भइरहेको जानकारी दिए।

यसैगरी, अलबामाको बर्मिङ्घममा ‘मैजिक सिटी क्लासिक’ फुटबल म्याचपछि लिजन फिल्ड स्टेडियम बाहिर गोली चलेको थियो। यस घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

बर्मिङ्घम प्रहरी प्रमुख माइकल पिकेटका अनुसार खेल सकिएपछि ग्रेमोन्ट एभिन्यु नजिकै यो घटना भएको हो। प्रहरी प्रवक्ता डी’रेल फ्रिम्यानले एक संदिग्धलाई नियन्त्रणमा लिई हतियारसमेत बरामद गरिएको जनाएका छन्।

डेलावेयरमा युनिभर्सिटी अफ डेलावेयर क्याम्पस नजिकै भएको गोलीबारीमा ६ जना घाइते भएका छन्। घटनापछि मानिसहरू ज्यान बचाउन भागदौड गरिरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ।

इलिनोइसमा आइतबार बिहान भएको गोलीकाण्डमा १९ वर्षीया एक युवतीको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छिन्। अन्य ६ जना सामान्य घाइते भएका छन्।

अर्कांससमा आइतबार बिहानै भएको गोलीबारीमा ६ जना घाइते भएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार गोली चल्नुअघि त्यहाँ कुनै विवाद भएको थियो।

क्यालिफोर्निया र मिसिगनमा शुक्रबार ‘स्पिरिट ह्यालोविन’ स्टोरहरूमा भएका दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको फेयरफिल्डस्थित एउटा सपिङ मलमा भएको आक्रमणमा ३१ वर्षीया महिलाको मृत्यु भएको थियो, जसलाई प्रहरीले ‘टार्गेटेड अट्याक’ (लक्षित आक्रमण) भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *