१३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग

डिसी नेपाल
१६ कार्तिक २०८३ १३:४९
4
Shares

नयाँदिल्ली। भारतको मतदाता नामावली संशोधनका क्रममा करिब १३ करोड (१३० मिलियन) मतदाताको नाम हटाइएको आरोप लगाउँदै निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीस्थित रामलीला मैदानमा विशाल प्रदर्शन भएको छ।

प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी) र विपक्षी गठबन्धन ‘इन्डिया’ को आह्वानमा आइतबार आयोजना गरिएको ‘दिल्ली चलो’ आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ‘भोट बचाऊ, देश बचाऊ’ को नारा लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन्।

प्रदर्शनको नेतृत्व गर्दै कांग्रेस नेता राहुल गान्धीले मताधिकार खोस्नु लोकतन्त्र र संविधानमाथिको प्रहार भएको बताएका छन्। यस प्रदर्शनमा विपक्षी गठबन्धनका १९ भन्दा बढी राजनीतिक दलका नेता, क्षेत्रीय प्रतिनिधि, विद्यार्थी संगठन, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको ठुलो उपस्थिति रहेको थियो।

कांग्रेसका नेता गुरमीत सपलले एक जना पनि वैध मतदाताको नाम सूचीबाट हट्न नदिनु निर्वाचन आयोगको प्रमुख दायित्व भएको उल्लेख गर्दै मताधिकार खोसिएपछि सरकारलाई जवाफदेही बनाउन नसकिने बताए। त्यस्तै, प्रदर्शनमा सहभागी अनन्त नामका सर्वसाधारणले यो कुनै राजनीतिक दलको मात्र नभई समग्र लोकतन्त्र रक्षाको मुद्दा भएको प्रतिक्रिया दिएका छन्।

ह्युमन राइट्स वाच लगायतका संस्थाहरूले पनि मतदाता नामावली परिमार्जन प्रक्रिया त्रुटिपूर्ण रहेको र यसले सीमान्तकृत समुदायको मताधिकार जोखिममा पारेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

अर्कोतर्फ, सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले भने विपक्षीहरूले बिना प्रमाण निर्वाचन आयोगजस्तो संवैधानिक निकायमाथि भ्रम फैलाउन खोजेको दाबी गर्दै आरोपको खण्डन गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *