एनपीएल : काठमाडौं गोर्खाजसामु कर्णाली याक्सले दियो १८१ रनको लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजसामु जितका लागि १८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजले टस जितेर पहिलो फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनको योगफल खडा गर्यो।
कर्णालीका लागि ओपनर अरिफुल इस्लामले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ५ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४४ रन बनाए। उनी शाहब आलमको बलमा डेविड वार्नरको हातबाट क्याच आउट भए। त्यस्तै, मार्क वाट १७ रन, जिसन आलम ७ रन र दिपक डुम्रे ८ रन बनाएर पेभेलियन फर्किए।
सुरुवाती विकेट चाडै गुमाएको कर्णालीको पारीलाई पाँचौँ विकेटका लागि पवन सर्राफ र हुसैन तलातले सम्हालेका थिए। उनीहरूबीच ६५ रनको महत्त्वपूर्ण साझेदारी भयो। हुसैनले ३० बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडे भने जहानदाद खानको बलमा हिट विकेट हुन पुगे।
अन्तिमतिर गुल्सन झाले १२ बलमा २ छक्का प्रहार गर्दै २० रनको योगदान दिए। उनी करण केसीको बलमा रासिद खानको हातबाट क्याच भए। पवन सर्राफ २४ रन र सोमपाल कामी १ रनमा अविजित रहे।
बलिङतर्फ काठमाडौँका करण केसीले २ विकेट लिए भने शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान १–१ विकेट हात पारे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment