अमेरिकाको फ्लोरिडामा लियरजेट ६० विमान दुर्घटनाग्रस्त: सवार सबै ९ जनाको मृत्यु

डिसी नेपाल
१६ कार्तिक २०८३ ११:५३
148
Shares

काठमाडौं । अमेरिकाको फ्लोरिडामा आइतबार एउटा बिजनेस जेट (विमान) दुर्घटनाग्रस्त भएको छ। यस भयानक दुर्घटनामा परी विमानमा सवार सबै ९ जनाको मृत्यु भएको छ। फ्लोरिडाका गभर्नर रन डिसेन्टिसले यसलाई एक अत्यन्तै कहालीलाग्दो दुर्घटना भनेका छन्।

प्राप्त जानकारी अनुसार ‘लियरजेट ६०’ नामक उक्त विमान टेक्ससको अस्टिनबाट बहामासतर्फ जाँदै थियो। सोही क्रममा विमान अचानक तीव्र गतिमा तल खसेको थियो। फ्लोरिडाका गभर्नर डिसेन्टिसका अनुसार विमान आकाशबाट कुनै मिसाइल खसेझैँ तल खसिरहेको थियो। विमान जमिनमा ठोक्किएपछि सडकको छेउमा ठूलो खाडल बनेको उनले बताए।

गभर्नरका अनुसार दुर्घटनापछि विमानका टुक्राहरू निकै टाढासम्म छरिएका थिए। घटनास्थलमा पुगेर तुरुन्तै उद्धार तथा राहत कार्य सुरु गरेकोमा उनले आपतकालीन टोलीको प्रशंसा गरे। उनले अधिकारीहरू फेडरल एभिएसन एडमिनिस्ट्रेशन सँग निरन्तर सम्पर्कमा रहेको र ‘मिलिट्री ट्रेल’ नजिकैको सडक बन्द राखिएको जानकारी दिए। दुर्घटनाका कारणबारे छानबिन भइरहेको छ।

फेडरल एभिएसन एडमिनिस्ट्रेशन का अनुसार यो विमान टेक्ससको अस्टिन-बर्गस्ट्रोम इन्टरनेसनल एयरपोर्टबाट बहामासका लागि उडेको थियो। यद्यपि, हालसम्म दुर्घटनाको वास्तविक कारण र विमानमा सवार मानिसहरूको पहिचान भने सार्वजनिक भइसकेको छैन।

बाटोमा चलिरहेका कारमा सवार मानिसहरूले यस दुर्घटनाको भिडियोसमेत खिचेका थिए। भिडियोमा विमान आकाशबाट तीव्र गतिमा तल खसेको र सडकमै ठोक्किए लगत्तै ठूलो विस्फोट भएको प्रष्ट देखिन्छ। दुर्घटनापछि सडकमा ठूलो खाडल बनेको र वरपर आगोको ज्वाला उठिरहेको थियो।

विमान बस्तीका घरहरूभन्दा केही फिट मात्र टाढा र सडकमा गुडिरहेका गाडीहरूभन्दा केही इन्चको दूरीमा खसेको थियो। दुर्घटना लगत्तै पूरै क्षेत्रमा बाक्लो कालो धुवाँ फैलिएको थियो, तर वरपरका घरहरूमा क्षति पुगे/नपुगेकोबारे भने अझै स्पष्ट हुन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *