सोमाली समुद्री डाकुहरूको आतङ्क: इरानी माछा मार्ने जहाज अपहरण, २३ जना बन्धक

डिसी नेपाल
१६ कार्तिक २०८३ १३:३४
8
Shares

काठमाडौं । अदनको खाडी र हिन्द महासागरमा समुद्री डाकुहरूको उपद्रव पुनः एकपटक बढेको छ। सोमाली समुद्री डाकुहरूले २३ जना सवार एक इरानी माछा मार्ने जहाजलाई नियन्त्रणमा लिँदै अपहरण गरेका छन्। उक्त जहाजमा १२ जना सोमाली समुद्री डाकुहरूले कब्जा जमाएका छन्।

म्यारीटाइम सेक्युरिटी सेन्टर इन्डियन ओसियनले चेतावनी जारी गर्दै यो अपहरण गरिएको जहाज व्यावसायिक जलमार्ग (कमर्शियल शिपिंग लेन) को नजिकै पुगिरहेको र डाकुहरूले यसलाई आगामी आक्रमणका लागि ‘फ्लोटिंग बेस’ (तैरिने आधार शिविर) का रूपमा प्रयोग गर्न सक्ने बताएको छ।

पुन्टल्याण्ड म्यारीटाइम पुलिस फोर्सका एक सुरक्षा अधिकारीले नाम नछाप्ने सर्तमा दिएको जानकारी अनुसार ‘अजिनी’ नामको उक्त जहाजलाई उत्तरपूर्वी सोमालियाका तटीय सहरहरू बन्दर बायला र हाफुनको बीचबाट अपहरण गरिएको हो।

जहाजमा २१ जना इरानी क्रू मेम्बर्स र २ जना सोमाली सुरक्षा गार्ड सवार थिए। हाल चालक दलका सदस्यहरूको सुरक्षाको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। युरोपेली संघको नौसैनिक अभियान ‘अपरेसन एटालान्टा’ ले यस घटनाको अनुसन्धान थालेको छ। सो क्षेत्र भएर आवतजावत गर्ने सम्पूर्ण जहाजहरूलाई उच्च सतर्कता अपनाउन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

सोमालियाको तटवर्ती क्षेत्र र अदनको खाडीमा पछिल्लो समय समुद्री डकैतीका घटनाहरू तीव्र रूपमा बढेका छन्। अगस्ट महिनासम्मको आँकडाअनुसार, अप्रिलदेखि हालसम्म डाकुहरूले कम्तीमा ६ वटा व्यावसायिक जहाजहरू अपहरण गरिसकेका छन्। यसरी गरिएका केही आक्रमणहरू सोमालियाको तटबाट धेरै टाढा खुला समुद्रमा समेत भएका छन्।

यसै वर्षको सेप्टेम्बरमा पुन्टल्याण्डका अधिकारीहरूले समुद्री डाकुहरूले ‘एमटी अनर २५’ ट्याङ्करका ५ जना चालक दलका सदस्यहरूको हत्या गरेको जानकारी दिएका थिए। पछि सुरक्षा फौजले कारबाही गरी उक्त जहाजलाई मुक्त गराएको थियो र १६ जना संदिग्ध डाकुहरूलाई नियन्त्रणमा लिएको थियो।

विगतमा व्यापक नौसैनिक गस्तीका कारण सोमाली डकैतीका घटनाहरूमा भारी कमी आएको थियो। तर, इरान युद्ध र क्षेत्रमा जारी तनावका कारण सोमाली डाकुहरूको यो पुनरागमनले अन्तर्राष्ट्रिय समुद्री व्यापारका लागि नयाँ र गम्भीर खतरा निम्त्याएको छ।

होरमुज र बाब अल-मन्देब जलडमरूमध्यमा निरन्तर अवरोधहरू सिर्जना भइरहेका कारण जहाजहरूले अफ्रिकाको लामो बाटो प्रयोग गर्न बाध्य हुनुपरेको छ। यसले गर्दा यात्राको समय एक महिनासम्म थपिएको छ भने ट्याङ्करहरूको दैनिक चार्टर दरसमेत १० लाख डलरसम्म पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *