बंगलादेशमा कपडा श्रमिकको न्यूनतम तलब वृद्धिको माग गर्दै ढाकामा प्रदर्शन

डिसी नेपाल
१६ कार्तिक २०८३ १४:५७

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित मिरपुर र गाजीपुरमा कपडा श्रमिकहरूले न्यूनतम मासिक ३० हजार टाका तलब निर्धारण हुनुपर्ने माग राख्दै व्यापक विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा मिरपुरमा श्रमिक र प्रहरीबीच झडप हुनुका साथै अशान्त अवस्था सिर्जना भएको छ। प्रदर्शनकारीहरूले बिहानको विरोधका क्रममा प्रहरीको एक गाडीमा आगजनीसमेत गरेका छन्। मिरपुरमा भएको झडपपछि प्रहरीले प्रदर्शनमा संलग्न धेरैजनालाई पक्राउ गरेको छ।

यसैबीच, श्रमिकहरूको मागलाई सम्बोधन गर्न बंगलादेश सरकारले छ सदस्यीय न्यूनतम वेतन बोर्ड गठन गरेको छ। आइतबार बिहान बंगलादेशका श्रम तथा रोजगार मन्त्री आरिफुल हक चौधरीले वेतन बोर्ड गठनको औपचारिक घोषणा गर्दै श्रमिकहरूलाई आन्दोलन रोकेर काममा फर्किन आग्रह गरेका छन्।

श्रम मन्त्रीले प्रदर्शन पछाडि राजनीतिक षड्यन्त्र रहेको आरोप लगाउँदै भने, “केही राजनीतिक संगठनहरूले योजनाबद्ध रूपमा देशमा अशान्त वातावरण सिर्जना गर्न यो सबै गरिरहेका छन् भन्ने कुरा पूर्ण रूपमा स्पष्ट छ। मलाई विश्वास छ, जनता र श्रमिकहरूले यो कुरालाई राम्ररी बुझ्नेछन्।”

नयाँ न्यूनतम तलबको विषयमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै मन्त्रीले भने, “वेतन बोर्डको औपचारिक गठन भइसकेको छ। बोर्डका सदस्यहरूले आपसमा छलफल र विस्तृत समीक्षा गरी छिट्टै स्वतन्त्र रूपमा उचित तलब तय गर्नेछन्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *