रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर तालिकाको शीर्ष स्थानमा

डिसी नेपाल
१७ कार्तिक २०८३ १७:२४
8
Shares

काठमाडौं।  राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मङ्गलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जित दर्ता गरेको छ। यस जितसँगै चार खेलबाट दुई जित हात पार्दै विराटनगर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पराजित जनकपुर तेस्रो स्थानमा छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो।

विराटनगरका लागि इमरान शेखले ५६, आन्द्रे रसेलले ५२ र लोकेश बमले ५० रनको अर्धशतकीय योगदान दिए। शेख र बमबीच १०७ रनको कीर्तिमानी साझेदारीसमेत भएको थियो। जनकपुरका तर्फबाट अभिषेक तिवारीले २ र मोइन अलीले १ विकेट लिए।

१७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि सैफ हुसेनले ७१ र विशाल सुस्लिङले ४३ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। जनकपुरको इनिङ्स ध्वस्त पार्न विराटनगरका आन्द्रे रसेलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारे।

यसैबीच, आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुई खेलबाट एक जित र एक रद्द खेलको अंक बटुलेको लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ भने सुरुआती दुवै खेल गुमाएको पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। आठ टोली सहभागी यस प्रतियोगिताको प्रतिस्पर्धात्मक माहौल थप रोचक बन्दै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *