कांग्रेस-एमाले गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याएको हो : प्रचण्ड

डिसी नेपाल
१७ कार्तिक २०८३ १६:४४

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको गठबन्धनले मुलुकमा राजनीतिक दुर्घटना निम्त्याएको बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच आयोजित एकता घोषणासभामार्फत सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि कम्युनिस्ट तथा देशभक्त शक्तिहरूले सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी गरे।

आफ्नो तेस्रो प्रधानमन्त्रीकाल स्मरण गर्दै प्रचण्डले सुशासन, सामाजिक न्याय र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको बताए। तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा ठूला भ्रष्टाचारका फाइलहरू खोलिएको उल्लेख गर्दै उनले मिटरब्याजपीडितलाई न्याय, मधेशमा नागरिकता समस्या समाधान र सामाजिक सुरक्षा कोषको दायरा विस्तारजस्ता ऐतिहासिक काम अघि बढाइएको दाबी गरे। तर, त्यही समयमा कांग्रेस र एमाले मिलेर आफू नेतृत्वको सरकार ढाल्ने कदम अस्वाभाविक, अप्राकृतिक र संविधानको मर्मविपरीत भएको उनको भनाइ थियो।

सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री दाहालले सम्पूर्ण कम्युनिस्ट, देशभक्त र लोकतन्त्रवादी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे। विगतका गल्ती-कमजोरीबाट पाठ सिक्नुपर्नेमा जोड दिँदै उनले नेतृत्वको अहंकारले ल्याएको दुष्परिणाम सम्झिन आग्रह गरे।

अहंकारकै कारण विगतमा जेनजी आन्दोलनसमेत व्यहोर्नुपरेको भन्दै उनले अबका दिनमा राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै देशलाई अस्तव्यस्ततातर्फ धकेल्न नहुने बताए।

हालसम्म २६ दल रहेको अवस्थामा नयाँ एकतासँगै २७ दल पुगेको जानकारी दिँदै उनले आगामी दिनमा थप कम्युनिस्ट दलहरूलाई एकीकृत गर्दै लैजाने विश्वास व्यक्त गरे। देश यतिबेला गम्भीर मोडमा पुगेको र विवेक गुमाएको अवस्थामा रहेको टिप्पणी गर्दै उनले कम्युनिस्टहरू सधैँ आशावादी भएर सकारात्मक परिवर्तनका लागि अघि बढ्नुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *