सरकारद्वारा किसानबाट धान खरिद प्रक्रिया सुरु
काठमाडौं । सरकारले किसानको धान खरिद गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको मन्त्रालयगत समन्वयमा उक्त खरिद प्रक्रिया अगाडि बढाइएको हो।
दुई मन्त्रालयबीच भएको समझदारीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले पहिलो चरणमा किसानबाट मोटा धान खरिद गर्ने भएको छ। महेन्द्रनगर शाखाबाट सुरु भएको यो प्रक्रिया अब नियमित रूपमा अन्य जिल्लाहरूमा पनि विस्तार गरिनेछ।
यसै क्रममा कम्पनीले महेन्द्रनगर शाखा कार्यालय परिसरबाट कात्तिक १९ र २० गते किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्ने जनाएको छ। कुपनमा तोकिएको मितिअनुसार किसानले कम्पनीको निर्धारित मापदण्डबमोजिमको मोटा धान महेन्द्रनगरस्थित गोदाममा ल्याउनुपर्नेछ।
धान तौलने कार्य आगामी कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनहरूमा सञ्चालन हुनेछ। धान बिक्री गर्न चाहने इच्छुक किसानले अनिवार्य रूपमा पहिल्यै कुपन लिनुपर्नेछ भने तोकिएको मिति र आवश्यक कागजातसहित उपस्थित हुन कम्पनीले आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment