अनुहारको रङ
आफ्नो सिफ्टमा अन्यत्र काम नगर्न र सिफ्टको समयबाहेक पनि अन्यत्र काम गर्दा विश्वविद्यालयको अनुमति लिनुपर्ने विश्वविद्यालयको नियमावलीमा भएको व्यवस्था अनुसार सम्बन्धित क्याम्पस र कर्मचारीलाई परिपत्र गरिएको थियो। बेलामौकामा डीन र क्याम्पस प्रमुखहरूले पनि आफू मातहतका सरकोरवाला सबैलाई मौखिक जानकारी गराएका थिए।
आफ्नो पिरियड पढाएर हाजिर गरी दश ठाउँ भ्याउनेहरूलाई यो नीति पटक्कै मन परेको थिएन। नियम मान्नेहरूले सिफ्टबाहेक काम गर्न अनुमति पनि लिए। तर अधिकांश सरहरूले लुकीछिपी नीतिको उल्लङ्घन गर्न थाले। यसका लागि विश्वविद्यालयले गगनलाई गोप्य जाँचबुझ समितिको संयोजक बनायो। गगन कुरौटे, अवसरवादी र कुराले ठिक्क पार्न सक्ने स्वभावको थियो। गगनले सबैको नाम, कार्यरत संस्था र समयको विवरण समेटेर यस्तो भएको र यस्तो कार्बाही गर्ने भन्ने सुझावसहितको बनाएर सम्बन्धित निकायमा बुझायो। अनि आफू पनि त्यही काम गर्न गयो जुन कुराको प्रतिवेदन उसले तयार पारेर बुझाएको थियो।
नियम नटेरी काम गर्नेहरूको संख्या प्रशस्त देखेपछि प्रशासनले पनि अनुगमनमा सक्रियता बढायो। गगनले बुझाएको प्रतिवेदन अनुसार अनुगमन गर्दा धेरै सरहरू काम गर्दै गरेका अवस्थामा रङ्गेहात समातिए र स्पष्टीकरणका लागि बोलाइए। दुर्भाग्य रङ्गेहात समातिनेमा र स्पष्टीकरणका लागि बोलाइएकामा गगन पनि थियो। स्पष्टीकरण दिन जानेहरूमध्ये उसको अनुहारको रङ् बढी कालोनिलो थियो।
No ads found for this position


Facebook Comment