मन्दोदरी: भाग-३

लंकाको अन्तःकरण र चन्द्रजल

लक्ष्मण राज सिटौला
२४ असोज २०८३ ७:१५

हरेक देशको आफ्नो छुट्टै परिचय हुन्छ, आफ्नै जातीय रङ हुन्छ, आफ्नै संस्कार-संस्कृति, जीवन कलेवर र आफ्नै प्रकारको भूगोल अनि सामाजिक विविधता हुन्छ। यो देश मेरा पति परमेश्वर दशानन लङ्केशको बाहुबलमा अविश्रान्त सुरक्षित रहोस् भन्ने मेरो उत्कट चाहना छ। मेरा दुई सुपुत्रको भविष्य सुरक्षित रहोस् भन्ने यही एउटा स्वार्थ छ मेरो।

भोलि जे होला, कसले देखेको छ र? तर आज भने कुनै अनिष्ट नहोस्। मेरो लङ्केशको शिर कहिल्यै नझुकोस्। यो देशका जनता कसैले पनि दुःख नपाऊन्। कोही पनि पराइसँग नझुकून् र आफैँ पनि कसैका सामु नचुकून्। हाम्रा शत्रुहरूले पनि हामीसँग वैरभावको कटुता नराखून्।

सुनले निर्मित यो भव्य लङ्कामा कसैको पनि कुदृष्टि नलागोस्, मेरा प्राणेश्वर…

आफ्नी प्रिय पत्नीको कुरा सुन्न सम्म धैर्य गर्न नसक्ने दशानन, मन्दोदरीका कुरा सुनेर केवल टाउको मात्र हल्लाइरहे। उनले कुनै प्रत्युत्तर दिएनन्।

आकाशमा नीलो सूर्य उदाएको केही क्षण बितिसकेको थियो। लङ्काका विशाल महलहरू अझै सुनौलै देखिन्थे, तर त्यो सुनमा पहिलेको जस्तो चमक र रौनक भने थिएन। मानौँ ती महलहरू स्वयं नै कुनै अदृश्य पीडाले थाकेका थिए।

मन्दोदरीले प्रत्येक रात एउटै सपना देख्न थालिन्- अशोकवाटिकाको एउटा पुरानो अशोकवृक्षमुनि सेतो वस्त्रधारण गरेकी एक दिव्य नारी ध्यानमग्न भएर बसेकी छिन्। उनको वरिपरि हजारौँ सेता पुतलीहरू उडिरहेका छन्, तर कुनै पनि पुतलीले उनको श्रीअङ्ग छुँदैन। उनी पूर्णतः मौन छिन्। उनको त्यो मौनताभित्र कुनै करुण शोकधुन गुन्जिरहेको प्रतीत हुन्छ।

एक बिहान एउटा नीलो परेवा महलको झ्यालमा आयो। उसको खुट्टामा चाँदीको एउटा सानो घण्टी बाँधिएको थियो। घण्टी प्रस्ट देखिए पनि त्यो बजेको भने थिएन, तर त्यसको मौन ध्वनि मन्दोदरीले भने प्रस्ट सुनिरहेकी थिइन्।

‘समय आइसकेको छ।’

‘कसको समय?’ मन्दोदरीले सोधिन्।

परेवाले पखेटा फट्कार्यो र अशोकवाटिकातिर उडेर गयो।

मन्दोदरी एक्लै त्यसको पछिपछि लागिन्।

अशोकवाटिकामा आज भने एउटा अनौठो र अलौकिक शान्ति छाइरहेको थियो। फूलहरू फुलेका त थिए, तर तिनको सुवास आकाशतिर नभई भूमितिर झरिरहेको थियो। हावाले पनि रूखका पातहरू नचलाएर केवल तिनका छायाहरू मात्र हल्लाइरहेको थियो।

वाटिकाको बीचभागमा पुगेपछि मन्दोदरीले देखिन्- एउटी नारी अशोकको वृक्षमुनि ध्यानस्थ भएर बसेकी थिइन्।

उनको अनुहारमा केवल दुःख देखिन्थ्यो, तर त्यो दुःखभन्दा कयौँ गुना ठूलो उनको कायामा एक प्रकारको दिव्य तेज थियो। आँखामा आँसु त थिए, तर ती आँसु पराजयका थिएनन्- त्यहाँ त केवल करुणाको अलौकिक उज्यालो थियो।

मन्दोदरीले बिस्तारै भनिन्, ‘देवी…’

ती नारीले बिस्तारै आँखा खोलिन्।

उनको दृष्टि समुद्रजस्तै गहिरो र हिमालजस्तै निश्चल अनि शान्त थियो।

‘तपाईं मन्दोदरी हुनुहुन्छ।’

‘र तपाईं…?’

‘नामभन्दा सत्य धेरै ठूलो हुन्छ।’

मन्दोदरी मन्द मुस्कुराइन्।

‘तैपनि यो संसारले तपाईंलाई कुनै न कुनै नामले त अवश्य बोलाउँछ।’

ती नारीले हल्का मुस्कान दिइन्।

‘मलाई धेरैले सीता भन्छन्।’

त्यो क्षण अशोकवाटिकाका सबै फूलहरू एकैचोटि हल्लिए, जबकि हावा चलेकै थिएन।

दुवै जना केही समय स्तब्ध र मौन रहे।

त्यो मौनता असहज भने थिएन। मानौँ दुई फरक नदीहरू धेरै वर्षको अन्तरालपछि एउटै विशाल समुद्रमा मिसिँदै छन्।

मन्दोदरीले अन्ततः भनिन्, ‘मलाई तपाईंप्रति कुनै वैरभाव छैन।’

सीताले उत्तर दिइन्, ‘मलाई पनि तपाईंसँग कुनै क्रोध वा द्वेष छैन।’

‘तर हाम्रो बीचमा एउटा भीषण युद्ध उभिएको छ।’

सीताले आकाशतिर हेर्दै भनिन्, ‘युद्ध त मानिसहरूले सुरु गर्छन्। प्रकृतिले त केवल त्यसको विनाशकारी पीडा सम्झेर वर्षौँसम्म रुँदै बस्छ।’

त्यही बेला एउटा अनौठो र अप्रत्याशित घट्ना भयो। अशोकवृक्षबाट एउटा सुनौलो पात खस्यो। पात जमिनमा स्पर्श हुनेबित्तिकै समय एकाएक रोकियो। चराहरू उड्दाउड्दै हावामा स्थिर भए। बतास थामियो। समुद्रका छालहरू जमेर नीलो सिसाजस्ता टल्किए। मन्दोदरी र सीता मात्र त्यहाँ संवाद गरिरहेका थिए।

‘यो के भयो?’ मन्दोदरी चकित भइन्।

सीताले शान्त स्वरमा भनिन्, ‘समयले हामीलाई यो एकान्त प्रदान गरेको हो।’

त्यही क्षण अशोकवृक्षको विशाल काण्डमा एउटा उज्यालो ढोका खुल्यो। ढोकाभित्र कुनै महल थिएन। त्यहाँ त असङ्ख्य ताराहरूले जगमगाएको एउटा विशाल र अनौठो वन थियो।

‘भित्र जाऔँ?’ सीताले सोधिन्।

मन्दोदरीले बिना कुनै हिचकिचाहट सहमतिमा टाउको हल्लाइन्।

ढोकाभित्र प्रवेश गरेपछि उनीहरूले यो पृथ्वीभन्दा सर्वथा फरक संसार देखे। त्यहाँका रूखहरूमा फल होइन, स्मृतिहरू फल्थे। फूलहरूबाट सुवास होइन, पुराना कालजयी गीतहरू झर्थे।

नदीमा पानी होइन, समय अविरल बगिरहेको थियो। दूर क्षितिजमा एउटा वृद्ध ऋषि उनीहरुकै प्रतीक्षामा बसिरहेका थिए। उनको दाह्री घुँडासम्म पुगेको थियो, तर आँखाहरू भने बालकका जस्तै उज्याला र पवित्र थिए।

‘आउनुभयो, स्वप्नरक्षिका,’ उनले मन्दोदरीलाई सम्बोधन गर्दै भने।

‘र करुणाकी पुत्री,’ उनले सीतातिर हेर्दै थपे।

मन्दोदरीले उत्सुक हुँदै सोधिन्, ‘हामीलाई यहाँ किन बोलाइएको हो?’

ऋषिले मुस्कुराउँदै एउटा सानो दिव्य ऐना निकालेर उनीहरूका बीचमा राखे।

‘यसमा हेर्नुहोस्।’

ऐनामा उनीहरूको अनुहार देखिएन। त्यहाँ त सुदूर भविष्यको दृश्य देखियो।

लंका दनदनी आगोमा जलिरहेको थियो। समुद्र रातो भएको थियो। आकाशबाट खरानी झरिरहेको थियो। तर त्यो सबैभन्दा विचित्र दृश्य थिएन। सबैभन्दा अनौठो र विचित्र दृश्य त के थियो भने- जलिरहेको लंकाको ठीक बीचमा एउटी सानी बालिका एउटा नयाँ बिरुवा रोपिरहेकी थिइन्।

‘यो बालिका को हुन्?’ मन्दोदरीले सोधिन्।

ऋषिले उत्तर दिए, ‘उनी भविष्य हुन्।’

‘कसको भविष्य?’

‘त्यो सुन्दर र शान्त संसारको, जुन अझै जन्मिएकै छैन।’

सीताले ऐनालाई फेरि ध्यानपूर्वक नियालिन्।

‘त्यहाँ बालिका एक्ली छैनन्।’

मन्दोदरीले पनि गहिर गरी नियालिन्।

साँचै, बालिकाको पछाडि एउटा स्पष्ट छाया उभिएको थियो।

त्यो छाया मन्दोदरीकै जस्तो थियो।

ऋषिले भने, ‘हरेक युगमा सत्य एउटै अनुहार लिएर जन्मन्छ।’

‘के म फेरि जन्मनेछु?’ मन्दोदरीले सोधिन्।

‘शरीरका रूपमा होइन।’

‘त्यसो भए कसरी?’

‘विचारका रूपमा।’

ऋषिले आफ्नो कमण्डलुबाट नीलो पानीको एक थोपा निकालेर मन्दोदरीको हत्केलामा राखे।

‘यो चन्द्रजल हो।’

‘यसको उपयोग के हो?’

‘जुन दिन आगोले सबै कुरा निल्न खोज्छ, यो जलले एउटा मात्र वस्तु बचाउन सक्छ।’

‘कुन वस्तु?’

‘त्यो त तिम्रो आफ्नै विवेक र निर्णयमा भर पर्नेछ।’

मन्दोदरी मौन भइन्।

उनी बिस्तारै बुझ्दै गइरहेकी थिइन्- अब उनको यात्रा केवल एउटा महारानीको मात्र होइन, सम्पूर्ण युगको अन्तःकरणको यात्रा बन्दैछ।

उनीहरू फर्कन लाग्दा ऋषिले अन्तिम उपदेश दिँदै भने, ‘स्मरण रहोस्- अहंकारले साम्राज्य बनाउँछ, प्रेमले घर बनाउँछ, तर केवल करुणाले मात्र युगको रक्षा गर्छ।’

त्यो वाक्य समाप्त हुनासाथ ताराहरू आकाशबाट बिस्तारै ओझेल पर्दै गए। अशोकवृक्षको त्यो अलौकिक ढोका बन्द भयो। समय फेरि आफ्नो साविककै गतिमा चल्न थाल्यो। चराहरू उडे, बतास चल्यो र समुद्रका छालहरू फेरि किनारमा आउन थाले।

सबै कुरा सामान्य देखिन्थ्यो, तर मन्दोदरीको निधारमा अझै पनि चन्द्रजलको नीलो थोपा टिल्पिलाउँदै चम्किरहेको थियो।

र ठीक त्यही क्षण, लङ्काको उत्तर दिशाबाट एउटा भयावह र गम्भीर शङ्खध्वनि गुन्जियो। राजदरबारका सैनिकहरू आतुरताका साथ दौडिँदै आए।

‘महारानी!’

‘के भयो?’

‘समुद्रको क्षितिजमा एउटा अनौठो दृश्य देखिएको छ।’

‘कस्तो दृश्य?’

‘समुद्रमाथि… ढुङ्गाहरू डुबेका छैनन्। तिनीहरू पानीमाथि तैरिँदै एउटा नयाँ बाटो बनाउँदै छन्…।’

मन्दोदरीले बिस्तारै आँखा बन्द गरिन्।

उनलाई राम्ररी थाहा थियो- अब भविष्यले कल्पनामा होइन, यथार्थको ढोकामा ढकढक्याउन सुरु गरिसकेको थियो।

(क्रमशः)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *