श्राद्धको महिमा र यसको शास्त्रीय महत्त्व
भनिन्छ, शरीरको देहावसान भइसकेपछि आत्मा अगाडि बढेर कहाँ जान्छ भन्ने कुरा धेरैजसो मानिसलाई थाहा छैन।
तर श्राद्धको तिथि र मितिमा आफ्ना दिवंगत आमा-बाबु, छोरा-छोरी, पूर्वजहरू तथा नातागोता आफ्नै घर-घरमा आउँछन् भन्ने शास्त्रको भनाइ छ। तर शरीर छाडेर जब आत्मा अगाडि बढ्दछ भने, अगाडि बढिसकेको आत्मा फेरि कसरी फर्केर नातागोताको सामीप्यमा आउँछ? यो ज्यादै गहिरो प्रश्न हो।
यसै प्रश्नको उत्तर खोज्न राजा दशरथ महान् ज्ञानी अष्टावक्रको नजिक गएका थिए र राजा जनकले पनि यही प्रश्न उनलाई सोधेका थिए। अज्ञानले भरिएका राजा जनकले सोधे- “गुरुजी! मरेका मानिसलाई हातबाट तर्पण दिए के त्यो जल आफ्ना माता-पिताले पाउँछन्?” उत्तरमा अष्टावक्र भन्छन्- “मरेका पितृहरू प्रत्यक्ष कर्म खोज्दैनन्, बल्कि भाव खोज्दछन्।
उनीहरू गहिरो श्रद्धा खोज्दछन्।” श्रद्धा र भक्तिमा समर्पण हुन्छ। समर्पणले हरेक कुरालाई टाढा नबनाई नजिक बनाउँछ। टाढा-टाढाका कुराहरू पनि नजिक आएर भावमा जोडिन्छन्।
यही गहिरो भावका कारण पितृहरू जसले श्रद्धा गर्दछ, उनैको साथमा रही उसले अर्पण गरेको भावलाई स्वीकार गर्दै आशीर्वाद दिन्छन्। उनीहरूलाई जीवनमा अझ सुख, आनन्द र शान्ति होस् भनी आशीर्वाद प्रदान गरेर आफ्नो निर्दिष्ट स्थानमा जान्छन् भन्ने मान्यता छ।
श्राद्ध श्रद्धाकै एक मूल भाव हो। भावमा भक्ति उत्पन्न हुन्छ र पूर्ण श्रद्धाका साथ गरिएको कर्मबाट प्राप्त कुराहरू अमृतसमान हुन्छन्। श्रद्धाविहीन काम र कर्म अर्थहीन हुन पुग्छन्। श्रद्धामा डर हुनु हुँदैन; डरले सबै श्रद्धा क्षय गराउँछ।
रिस, क्रोध र लोभले मनका सबै श्रद्धाहरू मैनबत्ती पग्लिएझैँ पग्लिएर बिलिन हुन्छन्। यज्ञमा अश्रद्धाले बालिएको अग्निमा धुवाँ मात्र आउँछ, अग्नि मन्द हुन्छ। तर श्रद्धालुले गरेको यज्ञमा धुवाँभन्दा अग्नि बढी तेजोमय हुन्छ र सारा सेरोफेरो प्रकाशमय बन्दछ।
श्राद्धमा विशेष गरेर विधि पुर्याउनुपर्दछ। योग्य र माछा-मासु नखाने शाकाहारी पण्डितद्वारा तोकिएको तिथि र मितिमा श्राद्ध गराइनुपर्छ। सकेसम्म गङ्गाजीको तटमा बसी शुद्ध यजमान र पण्डित-पुरोहितद्वारा श्राद्ध गर्नुपर्छ।
तिथिको श्राद्धमा विशेष गरी तीन पुस्ताका बराजु, बाजे, बाबु र जिजुबज्यै, बज्यै तथा आमाको नाममा श्राद्ध गरिनुपर्छ। अरू एक वर्षमा आउने सोह्रश्राद्धमा सात पुस्तासम्मका र आफ्ना अरू दाजुभाइहरूको नाममा पनि श्राद्ध गर्नुपर्दछ।
श्राद्ध गर्ने अघिल्लो दिन यजमानले कपाल खौरी, नुहाइधुवाइ गरी शुद्ध एकछाक मात्र खाएर बिटुलो चीजहरू केही गर्नु हुँदैन। भोलिपल्ट श्राद्धको दिनमा पुनः स्नान गरी जनै फेरेर शुद्ध भई बस्नुपर्दछ। श्राद्ध गर्न बस्दा सफा धोती पहिरिएर, सेतो गन्जी लगाई कुशको आसनमा दक्षिण फर्केर श्राद्ध गर्नुपर्छ। पितृलाई चढाउने सबै चीजहरू पूर्ण रूपमा शुद्ध हुनुपर्दछ।
श्राद्ध गर्दा आफ्नो मनलाई उच्चतम सफा, लोभ-मोहरहित र कुनै दुराशय वा दुष्भाव नराखी कार्य गर्नुपर्छ। श्राद्ध गर्दाको समयमा यजमानलगायत सम्पूर्ण परिवार लोभरहित बन्नुपर्छ र मृत आत्माको भक्तिपूर्वक स्मरण गरिनुपर्छ।
शङ्ख, घण्ट, गानाबजाना, होहल्ला, रिस, राग, द्वेषजस्ता भावहरूलाई हटाउनुपर्छ। नाममात्रका लागि वा लोभले भरिएर गरिएको श्राद्ध बेकार हुन्छ; पितृलाई तृप्त गराउन श्रद्धा, भक्ति र समर्पणको अत्यन्तै आवश्यकता पर्दछ। श्रद्धामा कुनै कमजोरी भएमा पितृले आएर भोजन स्वीकार गर्दैनन्। यस सम्बन्धमा एउटा लोककथा यस प्रकार छ:
“कुनै गाउँमा सोम शर्मा नाम गरेका एक धुरन्धर एवं श्राद्ध गराउन सिपालु ब्राह्मण थिए। उनको श्राद्ध गराउने विधि र तरिका देखेर गाउँका सारा यजमानहरू दङ्ग पर्थे र सबैले उनैलाई श्राद्ध गराउन रुचाउँथे। तर चार-पाँच वर्ष भइसकेको थियो, तिनै सोम शर्मा भने आफ्नो घरमा आफ्ना पितृहरूको श्राद्ध गर्दैनथे। विस्तारै यो कुरा गाउँलेहरूलाई थाहा भयो। पण्डित आफैँले घरमा श्राद्ध नगरेको खबर गाउँमा एक कान, दुई कान मैदान हुँदै सर्वत्र फैलियो। त्यसपछि गाउँका चार-पाँच जना पाका यजमानहरू आएर पण्डितसँग यसबारे गुनासो गर्न थाले।
पण्डितले सोझै भने- “श्रीमतीकै कारणले मैले घरमा श्राद्ध नगरेको हो। उनी चार-पाँच वर्षदेखि लोभी, कञ्जुस र कर्कशा बन्दै आएकी छन्। श्राद्ध गर्दा होहल्ला गरिदिने, झगडा गर्ने, सीधा बन्दोबस्त गर्दा थोरै-थोरै कञ्जुस्याइँ गरी पितृदानमा बाधा पुर्याउने र पण्डितलाई भोजन गराउँदा थोरै दिएर सधैँ पण्डित रिसाएर घर जाने स्थिति बन्यो। त्यसैले मेरो श्राद्ध गर्ने इच्छा नै मर्याे। बिना श्रद्धाको श्राद्ध गर्नु बेकार छ भनेर मैले नगरेको हो।”
यो सुनेर सम्पूर्ण यजमानहरू गुरुआमाकहाँ गएर लोभ नगरी श्राद्ध गर्न सम्झाए। त्यसपछि पण्डित श्राद्ध गर्न तयार भए। एकदिन तिथि-मिति मिलाएर घरमा श्राद्ध गर्न बसेका पण्डितले श्राद्ध सकिएपछि भान्छाको ढोका थुनेर पितृहरूलाई बोलाई खुवाउन थाले र खुवाउँदै कुराकानी पनि गर्न थाले। तर भोजनको खिर बगेर ढोकाबाहिर आएको देखेर श्रीमतीले आएर उनलाई बेसरी झापारिन्। उनले झापार्न के पाएकी थिइन्, पितृहरू जुरुक्क उठेर श्राप दिँदै भागे। त्यसपछि पण्डित सोम शर्मा फेरि रिसाएर पुनः श्राद्ध नगर्ने अठोटमा पुगे।”
यस छोटो कथाबाट के सिद्ध हुन्छ भने- जुन श्राद्धमा श्रद्धा हुँदैन र कसैको भक्ति रहँदैन भने त्यस्तो श्राद्ध गर्नु बेकार र अर्थहीन हुन्छ।
पितृहरूको भाव उपस्थिति
शास्त्रअनुसार मृत आत्माहरू फेरि सशरीर आउने कुरा भएन। तर उनीहरूको भावना आफन्तहरूकै सामीप्यमा रहिरहने र बारम्बार सपनामा पनि आइरहने हुँदा उनीहरूले जे माग्नुपर्ने हो र जे भन्नुपर्ने हो, त्यो सपनामै भावमार्फत प्रकट गर्दछन्।
कहिलेकाहीँ पितृका नाममा दान गरिएका चीजहरूमा कमी हुन आएमा वा उनीहरूलाई मन पर्ने सामान दिन छुटेमा ती छुटेका सामानहरू नपुगेको कुरा सपनामा आएर भन्ने र सूचित गर्ने गरेको पाइन्छ। साथै कुनै भाँडाकुँडा प्वाल परेको वा पानी खान नमिल्ने भएमा भाँडो चुहिएको सङ्केत पनि दिएको हामी पाउँछौँ। यो सब भावमै झल्किने भएकाले संस्कारअनुसार उनीहरूको इच्छा पूरा गरिदिनुपर्ने हुन्छ।
पितृलाई खुसी पार्न हरेक कुराको विधि, तरिका, तर्पण विधि र श्राद्ध कसरी गर्ने तथा पूजा सामग्री के-के चाहिन्छ, ती सब कुराको ज्ञान हुनु अत्यन्त आवश्यक छ।
भावमा केही कमी हुन गयो भने पितृले स्वीकार गर्दैनन्। पितृ ईश्वरभन्दा पनि माथि हुने भएकाले पितृकार्य साह्रै होस र विवेक पुर्याएर गर्नुपर्दछ। श्राद्ध गर्नुभन्दा एक दिनअगाडि हविष्यान्न भोजन ग्रहण गरी मन शुद्ध राखी भोलिपल्टको श्राद्ध पनि शुद्ध मन र भावले गर्नुपर्छ।
भनिन्छ- “यः करोति विश्वासेन श्राद्धं शुद्धेन चेतसा। तस्य शुभं भवेन्नित्यं पितृणां अनुकम्पया॥” अर्थात् जसले शुद्ध मन र भावले श्राद्ध गर्दछ, उसले जीवनमा सुख र शुभ लाभ प्राप्त गर्दछ। शौच तथा दिसा-पिसाब गर्दा लगाएको लुगाले श्राद्ध गर्न वर्जित छ। जनै फेर्नुपर्दछ। कपाल मुण्डन गर्ने तथा हात-खुट्टाका नङ काट्नु नितान्त आवश्यक छ। यति शुद्ध भएर श्राद्ध गरेमा कुनै पनि बाधा-अड्चन हुँदैन।
कुनै मानिसको मृत्यु भएपछि सबैले आफ्नो रीतिथितिअनुसार पितृकार्य गर्दछन्। तर हिन्दू धर्म-संस्कृति अनुसार पितृकार्य वा श्राद्ध गर्दा साह्रै शुद्ध आचार र शुद्ध भावना अपनाएर गर्नुपर्छ भनी शास्त्रमा लेखिएको छ।
आजको जमानामा सबै कुरा सबैले पूर्ण रूपमा पालन गर्न सक्दैनन्। तथापि झञ्झट र असजिलो भएकै कारण गर्दै नगर्ने प्रवृत्ति भने ज्यादै नराम्रो हो।
आफ्नो गच्छेले भ्याएसम्म जे-जस्तो छ, त्यो शुद्ध मन र भावले अर्पण गरेमा पितृकार्य सफल हुने र पितृहरूले दुःख नदिने भएकाले यो कार्यलाई कसैले पनि नछाडून् र आ-आफ्नो धर्म-कर्मअनुसार सधैँ गरिरहुन्। यही नै हिन्दू संस्कृतिको मूल मूल्य र मान्यता हो।
No ads found for this position




Facebook Comment