‘आमा खोइ ?’
अरबको तातो भुङ्ग्रोबाट
आमाको काख खोज्दै
बतासिएको मेरो मन
घरको आँगनमा पुग्यो र सिरु उम्रेको पिँढीलाई सोध्यो
आग्लो लागेको दैलोलाई सोध्यो
आधा खसेको पालीलाई सोध्यो
अनि मिल्किइएर खिया लागेको हँसियालाई सोध्यो-
‘आमा खोइ ?’
नि:शब्द ती निर्जीवहरू,
आँसु नखसाली रोइरहे
आमाको हात चाटेर हुर्केको
भोटे कुकुर, बैँसमै बुढो भएछ
नजिकै आयो, सुँघ्यो अनि फर्कियो
सायद कुरिरहेको थियो उसले पनि आमालाई
तर आमाको सट्टा म पो आएँ
ऊ निराश भई फर्कियो
थर्थराएको ओठ र
गलेको मेरो मनले कुकुरलाई पछ्याउँदै सोध्यो-
‘आमा खोइ ?’
पर..
बाँझो पाटोको बीचमा फतक्क कुहिएछ घैया धानको
आधा कुन्यू पराल
धमिराले खाएछ
लालेगोरु बाँध्ने किलो
भुइँभरि झरेछन् नासपातीका दाना
बसाइँ झरेछन् छिमेकी
अनि खै के ले खायो
कटक्क मेरो मन ?
चुपचाप थुचुक्क बस्यो
भोटे कुकुर अगाडि
उल्टै सोध्यो उसका निर्दोष आँखाहरूले मलाई
‘खोइ सिटामोलको चक्की ?
खोइ दम र खोकीको दबाई ?
खोइ आमालाई एक जोर चप्पल र मखमलको पछ्यौरी ?
सम्हालिऊ अनि फर्काइदेऊ साहुको ऋण
नसोध अब यो अनुत्तरित प्रश्न कहिल्यै
‘आमा खोइ ?
पिलपिल मेरो मन,
थिलथिलो भयो
सम्हालु कि ? यी आमाको सम्झनाहरू या फेरि अरबको ड्युटीमा जाउँ ?
कुँडिएको मनले कुकुरलाई अंगाल्यो
र फेरि एकपटक मनमनै सोध्यो
‘आमा खोइ ?’
-काठमाडाैं
No ads found for this position




Facebook Comment