अन्तरप्रदेश विद्युतीय सवारीको नयाँ भाडादर सार्वजनिक (सूचीसहित)

डिसी नेपाल
२३ असोज २०८३ १३:५५

काठमाडौं। सरकारले अन्तरप्रदेश (छोटो, मध्यम र लामो दूरी) रुटमा सञ्चालन हुने विद्युतीय शक्तिबाट चल्ने सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार समायोजन गरिएको नयाँ भाडादर औपचारिक रूपमा सार्वजनिक गरेको हो।

विभागका अनुसार तराई र पहाडी सडकखण्डमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको दूरी अनुसार प्रति किलोमिटर भाडादर परिमार्जन गरिएको छ।

तराईको लामो दूरी (२५० किलोमिटरभन्दा बढी) पक्की र ग्राभेल बाटोमा प्रति किलोमिटर प्रति व्यक्ति २ रुपैयाँ ९३ पैसा कायम गरिएको छ भने २५ देखि २५० किलोमिटरसम्मको दूरीका लागि ३ रुपैयाँ तोकिएको छ। त्यसैगरी, काठमाडौं-पोखरा र पोखरा-नारायणगढ खण्डमा प्रति किलोमिटर ३ रुपैयाँ २४ पैसा भाडादर कायम गरिएको छ।

डिलक्स र सुपर डिलक्समा २०-२० प्रतिशत थप भाडा

विभागका अनुसार यातायात व्यवस्था विभाग मातहतका कार्यालयबाट ‘डिलक्स’ सुविधा पाएको प्रमाणित भएका सवारी साधनले तोकिएको सामान्य भाडादरमा २० प्रतिशत थप लिन पाउनेछन्। त्यसैगरी, ‘सुपर डिलक्स’ सुविधा प्रमाणित भएका सवारी साधनले भने डिलक्स भाडादरमा थप २० प्रतिशत रकम जोडेर यात्रुसँग लिन सक्ने व्यवस्था गरिएको छ।

सहुलियत अनिवार्य, रात्रिकालीन बसमा दुई चालक हुनैपर्ने

विभागद्वारा जारी आचारसंहिता अनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई नियमअनुसार तोकिएको सहुलियत (छुट) अनिवार्य रूपमा प्रदान गर्नुपर्नेछ। यस्तो सहुलियत दिँदा कुनै निश्चित रुट, कोटा वा दिन तोक्न नपाइने र यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाएमा सधैँ छुट दिनुपर्ने व्यवस्था गरिएको छ।

यसैबिच, लामो दूरीमा चल्ने रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, चालक तथा सहचालकले तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्ने नियम कडा पारिएको छ।

तोकिएको भन्दा बढी भाडा लिएमा कडा कारबाही गरिने चेतावनी विभागले दिएको छ। यदि कुनै सवारीले बढी भाडा लिएमा यात्रुले ‘हेलो सरकार’को टोल फ्रि नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा तत्काल उजुरी दिन सक्नेछन्।

मालवाहक सवारी (ट्रक) को पनि भाडा परिमार्जन

यात्रुवाहक सवारीसँगै मालवाहक सवारी साधन (ट्रक) को भाडादरमा पनि समायोजन गरिएको छ। तराईतर्फ प्रति किलोमिटर प्रति टन ७ रुपैयाँ ७२ पैसा र पहाडतर्फ १४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। विभागले १० टन क्षमतालाई आधार मानेर प्रमुख रुटहरूको भाडादर समेत तोकेको छ।

जसअनुसार पहाडी बाटो हुँदै चल्ने वीरगञ्ज-काठमाडौं रुटका लागि ट्रक भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा-काठमाडौं रुटका लागि ३२ हजार १४१ रुपैयाँ तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *