एमालेका ४ जनप्रतिनिधि बर्खास्तीमा, स्थानीय तहमा पद रिक्त

डिसी नेपाल
२३ असोज २०८३ १२:३९
24
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट गत स्थानीय तह निर्वाचनमा निर्वाचित चार जना जनप्रतिनिधिलाई दल त्याग गरेपछि पदमुक्त गरिएको छ।

एमाले केन्द्रीय सचिवालयको निर्णयअनुसार गरिएको सिफारिसका आधारमा निर्वाचन आयोगले उनीहरू निर्वाचित भएका पदहरू स्वतः रिक्त भएको सूचना प्रकाशित गरेको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एमालेले ती जनप्रतिनिधिहरूले पार्टी विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको जानकारी आयोगलाई गराएको थियो।

सोही जानकारीका आधारमा असोज २२ गते बिहीबार बसेको निर्वाचन आयोगको बैठकले उनीहरू निर्वाचित भएका स्थानमा पद रिक्त भएको निर्णय गरेको हो। सोही निर्णयअनुसार असोज २३ गते शुक्रबार आयोगले सार्वजनिक सूचना जारी गर्दै पद रिक्त रहेको जानकारी गराएको छ।

पदमुक्त हुने जनप्रतिनिधिहरूमा भोजपुर नगरपालिका (भोजपुर, कोशी प्रदेश) की उपप्रमुख निर्मला शेर्पा र सोही नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नवीन प्रधान रहेका छन्।

त्यसैगरी कपिलवस्तुको विजयनगर गाउँपालिका (लुम्बिनी प्रदेश) की उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र सोही गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अनवर मोहमम्द मुसलमान पनि पदमुक्त भएका छन्।

एमालेको केन्द्रीय सचिवालय निर्णयको प्रतिलिपिसहित प्राप्त सिफारिसका आधारमा आयोगले नियमावलीको नियम २२ को उपनियम (२) बमोजिम कारबाही प्रक्रिया अघि बढाउँदै पद रिक्तताको सूचना प्रकाशित गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *