जानकी नवमीमा सार्वजनिक बिदा दिन महन्थ वैष्णवको आग्रह

डिसी नेपाल
२३ असोज २०८३ १२:५६

काठमाडौं। जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले जानकी नवमीका दिन सार्वजनिक बिदा दिनका लागि पहल गरिदिन नेपाल पत्रकार महासंघसँग आग्रह गरेका छन्।

जानकी नवमीका अवसरमा सार्वजनिक बिदा गराउनका लागि आवश्यक पहल गर्न महन्थ वैष्णवले नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, पूर्वअध्यक्ष धर्मेन्द्र झालगायत केन्द्रीय समितिका पदाधिकारीहरूलाई आग्रह गरेका हुन्।

महन्थ वैष्णवले जानकी नवमी माता सीताको पावन जन्मोत्सव भएकाले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्नेमा विशेष जोड दिए। सीता नेपाली समाजमा छोरीको पहिचान र स्वाभिमानको प्रतीक भएको उल्लेख गर्दै उनले जानकी नवमीले मुलुकमा छोरीप्रधान संस्कृतिको महत्त्वलाई उजागर गर्ने धारणा व्यक्त गरे।

माता सीताको जन्मोत्सवलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न सके नेपालको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान थप सुदृढ र उजागर हुने उनको भनाइ थियो। उनले राष्ट्रिय स्तरमै माता सीताको महिमा र योगदानको सम्मान हुनुपर्ने बताए।

त्यस्तै, महन्थ वैष्णवले माता सीताको बाल्यकालको प्रसंग स्मरण गराउँदै धार्मिक मान्यता अनुसार पाँच वर्षको उमेरमै सीताले धनुष उठाएको चर्चा गरे। उनले जानकी नवमीलाई राष्ट्रिय महत्त्वको पर्वका रूपमा स्थापित गराउन सम्बन्धित निकायहरूले समयमै आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *