ब्राजिलमा ‘जेन जी’ द्वारा दक्षिणपन्थी उम्मेदवार फ्लावियो बोल्सोनारोविरुद्ध सडक प्रदर्शन

डिसी नेपाल
२३ असोज २०८३ १३:१६

काठमाडौं । फ्रान्समा जारी विद्यार्थी आन्दोलनको राप सेलाउन नपाउँदै अब ब्राजिलमा पनि ठुलो छात्र विद्रोह र जनप्रदर्शन सुरु भएको छ।

पूर्वराजधानी रियो डि जेनेरियो मा हजारौँ युवा तथा विद्यार्थीहरू सडकमा उत्रिएर दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार फ्लावियो बोल्सोनारो विरुद्ध तीव्र प्रदर्शन गरेका छन्। ब्राजिलमा बढ्दो दक्षिणपन्थी विचारधाराको दबदबाद्वारा चिन्तित युवाहरूले सुरु गरेको यस आन्दोलनलाई ‘जेन जी’ को विद्रोहका रूपमा हेरिएको छ।

यस प्रदर्शनको मुख्य कारक हालै सम्पन्न राष्ट्रपति निर्वाचनको पहिलो चरणको नतिजा हो। भ्रष्टाचारको आरोपमा जेल सजाय काटिरहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा दक्षिणपन्थी सिनेटर फ्लावियो बोल्सोनारोले पहिलो चरणमा सबैभन्दा बढी ४७ प्रतिशत मत प्राप्त गरे। उनले आफ्ना प्रतिस्पर्धी तथा वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई पछाडि पारे, जसले ४५ प्रतिशत मत प्राप्त गरेका थिए।

राष्ट्रपति बन्नका लागि आवश्यक स्पष्ट ५० प्रतिशत मत कसैले पनि ल्याउन नसकेपछि अब दुवै उम्मेदवारबिच अक्टोबर २५ मा दोस्रो चरणको (‘रन-अफ’) प्रतिस्पर्धा हुँदै छ, जहाँ फ्लावियोको जित्ने सम्भावना बलियो देखिएको छ।

डेचे वेले अखबारका अनुसार २० वर्षीय साहित्यका विद्यार्थी जोआओ भिक्टर भिएराले भने, ‘यदि बोल्सोनारो विजयी भए भने ब्राजिल अमेरिकाको एउटा उपनिवेश जस्तै बन्नेछ।’ उनले बोल्सोनारोको राजनीतिक विचारधारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अत्यधिक मिल्दोझुल्दो रहेको भन्दै चिन्ता व्यक्त गरे।

अल जजिराका अनुसार ल्याटिन अमेरिकाका अन्य देशहरूझैँ ब्राजिलमा पनि सत्ता वामपन्थबाट पुनः उग्र-दक्षिणपन्थतर्फ ढल्किने खतरा बढेको छ। रियोको सहरी केन्द्रमा ‘बोल्सोनारो कहिल्यै चाहिँदैन’, ‘निरङ्कुशता अस्वीकार्य छ’ र ‘बाबु मात्र होइन, छोरा पनि चाहिँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर जुलुस निकालिएको थियो।

२५ वर्षीया एलिस कार्नेइरोले आफ्नो ट्रान्सजेन्डर श्रीमतीको सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्दै भनिन्, ‘म यहाँ लोकतन्त्रमा विश्वास गर्ने भएकाले र दक्षिणपन्थी शासनमा हुनसक्ने सम्भावित आक्रमणको डरले आएकी हुँ।’ १९ वर्षीय विद्यार्थी इमानुएल अराउजोले भने, ‘लुला मेरो पहिलो रोजाइ नहुन सक्छन्, तर आलोचना गर्न पाइने लोकतान्त्रिक नेता र बोल्ने अधिकार नै खोस्ने बर्बर शासकबिच हामीले विवेकपूर्ण छनोट गर्नुपर्छ।’

राष्ट्रपति पदका उम्मेदवार फ्लावियो बोल्सोनारोलाई जेलमा रहेका उनका पिताको पूर्ण समर्थन रहेको छ र उनले पितालाई माफी दिने सार्वजनिक घोषणासमेत गरिसकेका छन्। विचारधारात्मक रूपमा विभाजित बनेको ब्राजिलका नागरिकहरू अब अक्टोबर २५ मा हुने निर्णायक दोस्रो चरणको मतदानको पर्खाइमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *