पूर्वी युक्रेनमा रूसी आक्रमण तीव्र: ३० जनाको मृत्यु, किभमा विद्युत् सङ्कट गहिरिँदै

डिसी नेपाल
२३ असोज २०८३ १२:५९
4
Shares

काठमाडौं । जाडो याम सुरु हुनुअघि युक्रेनमा रूसले आफ्ना मिसाइल तथा ड्रोन आक्रमणहरूलाई तीव्र बनाएको छ। पूर्वी युक्रेनमा भएका पछिल्ला रूसी प्रहारहरूमा परी ३० जना सर्वसाधारणको मृत्यु भएको छ भने कम्तीमा १८ जना घाइते भएका छन्। आक्रमणका क्रममा एक यात्रुवाहक बसलाई समेत निशाना बनाइएको छ। यसैबिच, निरन्तरको प्रहारका कारण राजधानी किभमा विद्युत् सङ्कट झनै गहिरिएको छ।

डोनेट्स्क प्रान्तका गभर्नर भाडिम फिलास्किनले रूसले जानाजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएका छन्। उनले यस्तो गम्भीर परिस्थितिमा यात्री तथा बस चालकहरूको ज्यान जोखिममा पार्न नसकिने बताउँदै क्रामातोर्स्क र स्लोभियान्स्कका नागरिकहरूको सुरक्षा नै पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

यसैबिच, अघिल्लो दिन उत्तरी युक्रेनको प्रिलुकी सहरमा भएको भीषण मिसाइल आक्रमणमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढेर २२ पुगेको छ, जसमा पाँच जना बालबालिका रहेका छन्। रूसी मिसाइलले एक आवासीय भवनमा प्रहार गर्दा कम्तीमा ५४ जना घाइते भएका थिए।

आक्रमणपश्चात् राहत तथा उद्धार टोलीहरू खोजी कुकुरको सहयोगमा अवशेषमुनि पुरिएका मानिसहरूको खोजीमा जुटिरहेका छन्। भवनको ठुलो हिस्सा ध्वस्त भएको र बसोबासका लागि वैकल्पिक व्यवस्था हुन नसक्दा केही पीडितहरूले क्षतिग्रस्त फ्ल्याटमै रात बिताउनुपरेको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जाडो नजिकिँदै गर्दा रूसले दैनिक मिसाइल र ड्रोन प्रहार अझ बढाउन सक्ने चेतावनी दिएका छन्। उनले नेटो सम्बद्ध देशहरूसँग युक्रेनलाई थप रक्षा सहायता प्रदान गर्न अपिल गरेका छन्। जेलेन्स्कीले भने, “युक्रेनलाई केवल समर्थनका औपचारिक अभिव्यक्ति होइन, मानिसहरूको ज्यान जोगाउन सक्ने नयाँ रक्षा प्याकेजहरू चाहिएको छ।” उनले ब्यालिस्टिक मिसाइल रोक्ने क्षमता, लडाकु विमानका लागि गोलाबारुद र ड्रोन/मिसाइल इन्टरसेप्टर प्रणालीमा लगानी बढाउन माग गरेका छन्।

यता, युक्रेनको ऊर्जा कम्पनी DTEK का अनुसार राष्ट्रिय ग्रिड अपरेटर ‘उक्रेनर्गो’ ले किभमा आपत्कालीन विद्युत् कटौतीको निर्देशन दिएको छ। यो आपत्कालीन कटौती देशभर नियमित रूपमा तालिकाबद्ध गरिएको लोडसेडिङभन्दा फरक र थप रहेको कम्पनीले जनाएको छ। युक्रेनमा यसै महिनादेखि नागरिक सचेतना अभियान पुनः सुरु गरिएको छ, जसअन्तर्गत परिवारहरूलाई आपत्कालीन किट तयार राख्न, पिउने पानी भण्डारण गर्न र ऊर्जाका वैकल्पिक उपायहरू मिलाउन आग्रह गरिएको छ।

अर्कातर्फ, रूसको प्रमुख प्रविधि कम्पनी ‘यान्डेक्स’ ले पश्चिमी रूसको रियाजान क्षेत्रमा रहेको आफ्नो डाटा सेन्टर युक्रेनी ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको जनाएको छ। जसका कारण सो डाटा सेन्टरलाई अफलाइन गर्नुपरेको र अनलाइन सेवाहरू प्रभावित हुन सक्ने बताइएको छ।

यसैबिच, युक्रेनले रूसको सलावात सहरस्थित एक ठुलो तेल प्रशोधन केन्द्र र पेट्रोकेमिकल परिसरमा आफ्ना सैनिकहरूले सफल प्रहार गरेको दाबी गरेको छ। युक्रेनी सेनाको जनरल स्टाफले यसलाई रूसको सबैभन्दा ठुलो तेल रिफाइनरीहरूमध्ये एक भनेको छ, यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *