पुरानाे सिआइए विमानस्थल अब चिनियाँ सैन्य अखडा
सीएनएन। भियतनाम युद्धको समयमा अमेरिकी गुप्तचर संस्था सिआइएले प्रयोग गरेको उत्तर-पश्चिमी लाओसको एउटा पुरानो विमानस्थलमा चिनियाँ सेनाले नयाँ सैन्य आउट पोस्ट खोलेको छ।
लाओसको राजधानी भियान्तियानबाट करिब ४० माइल उत्तर र थाइल्यान्डको नजिकैको सीमाबाट मात्र २५ माइलको दूरीमा रहेको यो अखडामा ‘चीन-लाओस संयुक्त सहयोग तथा तालिम केन्द्र’ र ‘चीन-लाओस मैत्री उड्डयन एकेडेमी’ रहेका छन्। चीनको रक्षा मन्त्रालयको घोषणा अनुसार यसले गत सेप्टेम्बर २९ देखि कार्य सञ्चालन सुरु गरेको हो।
स्याटेलाइट तस्बिर र गुप्तचर प्लेटफर्म भ्यान्टरबाट सीएनएनले प्राप्त गरेका तस्बिरहरूमा उक्त बेसमा गत डिसेम्बरयता ६,५०० फिट (२,००० मिटर) लामो धावनमार्ग, ट्याक्सीवे र २२ वटा विमान पार्किङ गर्न सकिने एप्रोन निर्माण सम्पन्न भएको देखिएको छ।
चीनको रक्षा मन्त्रालयको विज्ञप्ति अनुसार यी सुविधाहरू “लाओसलाई आफ्ना वायुसेना पाइलटहरूको तालिम र विकासमा मजबुत बनाउन सहयोग गर्ने उद्देश्यले तयार पारिएको हो र यसको मर्मत सम्भार दुवै पक्षले संयुक्त रूपमा गर्नेछन्।”
स्याटेलाइट तस्बिरहरूमा आठ वटा विमानहरू देखिएका छन्, जुन सम्भवतः ‘होङ्डु जेएल-८’ जेटहरू हुन्। यो दुई सिट भएको तालिम तथा हल्का आक्रमण गर्ने विमान हो।
मन्त्रालयले यो सुविधा “कुनै तेस्रो पक्षविरुद्ध लक्षित नरहेको र यसले दुई देशका सेनाबिचको व्यावहारिक सहकार्यलाई थप मजबुत बनाउनका साथै क्षेत्रीय शान्ति र स्थिरता कायम राख्न मद्दत पुर्याउने” जनाएको छ।
अहिलेसम्म चीनको आधिकारिक रूपमा विदेशमा एउटा मात्र सैन्य बेस रहेको छ, जुन उत्तर-पूर्वी अफ्रिकाको जिबुटीमा सन् २०१७ मा खोलिएको थियो।
यसबाहेक, चीनले थाइल्यान्डको खाडीमा रहेको कम्बोडियाको ‘रिम नौसेना बेस’ को ठूलो विस्तारका लागि पनि आर्थिक सहयोग गरेको थियो, जसलाई उसले कम्बोडियाली सेनासँग संयुक्त रूपमा सञ्चालन गर्दछ।
त्यहाँ जनमुक्ति सेनाको नौसेनाका विमानवाहक जहाजहरू समेत अट्ने गरी बनाइएको नयाँ जेट्टीले यस क्षेत्रमा बेइजिङको मनसायलाई लिएर चिन्ता बढाएको छ।
तर कम्बोडिया सरकारले रिम बेस अमेरिकी नौसेना लगायत अन्यका लागि पनि खुला रहेको दाबी गर्दै आएको छ; गत जनवरीमा अमेरिकाको एक ‘लिटल कम्ब्याट शिप’ त्यहाँ पुगेको थियो।
भियतनाम युद्धका क्रममा लाओसको बन केन स्थित यो बेसलाई सिआइएद्वारा सञ्चालित ‘एयर अमेरिका’ ले यस क्षेत्रमा गोप्य अपरेसनहरूका लागि रसद तथा सहयोग केन्द्रका रूपमा प्रयोग गर्ने गर्दथ्यो।
यद्यपि, त्यहाँ चीनको प्रवेश सङ्केतात्मक भए पनि यसले अमेरिका र चीनबिचको शक्ति सन्तुलनमा कुनै ठूलो फेरबदल ल्याउने संकेत नगर्ने विश्लेषकहरूले बताएका छन्।
सिंगापुरस्थित एस. राजारत्नम स्कूल अफ इन्टरनेसनल स्टडीजका वरिष्ठ शोधकर्ता ड्र्यू थम्पसनले बिहीबार भनेअनुसार यो बेसबाट यस क्षेत्रमा रहेका अमेरिकी फौजलाई कुनै खतरा पुग्ने देख्न गाह्रो छ।
“यो धावनमार्ग कुनै खतराको सूचक होइन,” थम्पसनले भने, “अमेरिकाको प्रमुख गैर-नाटो सहयोगी राष्ट्र थाइल्यान्डनजिकै रहेको यो स्थानबाट चीनले विमान उडानहरू सञ्चालन गर्न चाहने कुनै परिस्थिति कल्पना गर्न मलाई गाह्रो परिरहेको छ।”
अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका वरिष्ठ विश्लेषक रेचेल भान्डेनब्रिंकले रोयटर्सलाई बताए अनुसार चीनले बन केनलाई रोज्नु “कुनै स्पष्ट अपरेसनल आवश्यकता पूरा गर्नुभन्दा पनि उपलब्ध अवसरको फाइदा उठाउनु मात्र हुन सक्छ।”
“चीनसँग जोडिएको साझा सीमा र रेलवे लगायतका पूर्वाधार सञ्जालका कारण मुख्यभूमि दक्षिण-पूर्वी एसियामा लाओसको केही भू-राजनीतिक महत्त्व भने पक्कै छ,” भान्डेनब्रिंकले भने।
No ads found for this position




Facebook Comment