डोल्पाको बाला त्रिपुरासुन्दरी: रोचक किंवदन्ती, ऐतिहासिक विरासत र धार्मिक पर्यटनको गन्तव्य
सुर्खेत। भेरी करिडोर सडकखण्डको बिचमा पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१, त्रिपुराकोटस्थित बाला त्रिपुरासुन्दरी भगवती मन्दिर धार्मिक आस्था, ऐतिहासिक किंवदन्ती र मौलिक संस्कृतिको अनुपम सङ्गमका रूपमा रहेको छ।
प्राचीन शिलालाई आदिशक्तिको प्रतीक मानेर पूजा गरिने यो मन्दिर पश्चिम नेपालकै एक प्रसिद्ध एवं पवित्र शक्तिपीठ हो। यहाँ बडादसैँ, चैतेदसैँ र अन्य धार्मिक पर्वहरूमा टाढा-टाढाबाट हजारौँ भक्तजनहरू दर्शनका लागि पुग्ने गर्छन्।
डोल्पाली समुदायको धार्मिक विश्वासमा विशेष स्थान ओगटेको यो मन्दिर केवल पूजाआजा गर्ने थलो मात्र नभई स्थानीय इतिहास, सामाजिक सम्बन्ध, गुठी व्यवस्था र पुस्तौँदेखि चलिआएका सांस्कृतिक परम्परा संरक्षण गर्ने मुख्य केन्द्र पनि हो। मन्दिरसँग जोडिएका रोचक किंवदन्ती, देवीको शिलास्वरूप र यहाँ मनाइने मौलिक पर्वहरूले यसको विशिष्ट पहिचान स्थापित गरेको स्थानीय रामचन्द्र न्यौपाने बताउँछन्।
वि.सं. १११४ देखिको धार्मिक इतिहास र जनश्रुति
बाला त्रिपुरासुन्दरी मन्दिरको स्थापना विक्रम संवत् १११४ मा भएको मानिन्छ। मन्दिरको उत्पत्तिसँग धान कुट्ने परम्परागत ओखलको रोचक कथा जोडिएको छ।
किंवदन्तीअनुसार, हाल मन्दिर रहेको स्थानमा पहिले एउटा ओखल थियो, जहाँ धान कुट्दा कहिले अपेक्षाभन्दा निकै कम त कहिले अस्वाभाविक रूपमा धेरै चामल निस्कने गर्दथ्यो।
यस रहस्यको खोजी गर्न जमिन खन्दा तामाको भाँडो, उम्लिरहेको घिउ र बलिरहेको बत्ती फेला परेको र त्यहाँबाट निस्किएका पुतलीहरू शिलामा परिणत भएको जनश्रुति छ। तिनै शिलालाई देवीको साक्षात स्वरूप मानेर पूजा गर्न थालिएपछि त्यहाँ मन्दिर स्थापना गरिएको धार्मिक मान्यता छ।
प्राचीन शिलालाई शक्तिस्वरूप मान्ने पूजापद्धति
बाला त्रिपुरासुन्दरीको मुख्य पूजास्थलमा कुनै परम्परागत मूर्ति नभई प्राचीन शिलालाई नै देवीको मूल स्वरूपका रूपमा स्थापित गरिएको छ। भक्तजनहरूले उक्त शिलालाई आदिशक्तिको प्रतीकका रूपमा श्रद्धापूर्वक दर्शन र पूजाआजा गर्छन्।
हिन्दू शक्तिपरम्परा अनुसार बाला त्रिपुरासुन्दरीलाई सङ्कटबाट रक्षा गर्ने, मनोकामना पूरा गर्ने र परिवारमा सुखशान्ति प्रदान गर्ने देवीका रूपमा पुजिन्छ। अर्को धार्मिक मान्यताअनुसार, सतीदेवीको अङ्ग पतन हुने क्रममा उनको कुण्डलो यही क्षेत्रमा खसेको विश्वास गरिन्छ, जसका कारण पनि यस स्थललाई विशेष शक्तिपीठ मानिन्छ।
राजा विक्रम शाहीको इतिहास र पर्व अनुष्ठान
स्थानीय इतिहास अनुसार, परापूर्वकालमा त्रिपुराकोटको कोटगढी क्षेत्रमा राजा विक्रम शाहीको दरबार रहेको थियो। तत्कालीन समयमा यो क्षेत्र शासन, धार्मिक गतिविधि र सामाजिक जीवनको मुख्य केन्द्र थियो।
मन्दिर परिसरमा रहेका ध्वजायुक्त अग्ला लिङ्गो र विभिन्न धार्मिक प्रतीकहरूले यसको ऐतिहासिकता पुष्टि गर्छन्। विजयादशमी र चैते अष्टमीका अवसरमा यहाँ विशेष धार्मिक विधिपूर्वक पूजाआजा गर्ने र ध्वजा फेर्ने परम्परा छ। राजा विक्रम शाहीको देवीप्रतिको अगाध श्रद्धा र मन्दिरसँगको सम्बन्धलाई स्थानीय इतिहासमा विशेष महत्त्व दिइएको छ।
बडादसैँ र चैतेदसैँका अवसरमा यहाँ धार्मिक अनुष्ठान, भजनकीर्तन र परम्परागत बाजागाजासहित मेला लाग्छ। पूजा व्यवस्थापन र अनुष्ठानहरूमा पुजारी समुदाय, गुठीियार परिवार र स्थानीय समुदायले पुस्तौँदेखि आ-आफ्नो जिम्मेवारी निभाउँदै आएका छन्।
कोटसेराको धान रोपाइँ मेला: आस्था र कृषि संस्कृतिको सङ्गम
मन्दिरको धार्मिक परम्परा पूजाआजामा मात्र सीमित छैन। मन्दिरको गुठीअन्तर्गत रहेको ‘कोटसेरा’ खेतमा हुने धान रोपाइँ मेला यहाँको मौलिक सांस्कृतिक धरोहर हो।
डोल्पाको भूगोल र कृषि चक्र अनुसार यहाँ हरेक वर्ष जेठ महिनामै धान रोपाइँ गरिन्छ। मन्दिरको गुठी जग्गामा रोपाइँ सम्पन्न भएपछि मात्रै मेलाको समापन हुने पुराना पत्रकार विष्णु देवकोटा बताउँछन्।
रोपाइँका क्रममा स्थानीयहरू सामूहिक रूपमा खेतमा काम गर्ने, असारे गीत गाउने, बाजा बजाउने र दहीचिउरा तथा सेलरोटीजस्ता स्थानीय परिकार बाँडेर खाने गर्छन्। भगवतीको गुठी खेतमा रोपाइँ गरेपछि अन्नबाली राम्रो हुने र गाउँमा समृद्धि आउने जनविश्वास छ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना
प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण डोल्पामा बाला त्रिपुरासुन्दरी मन्दिरले धार्मिक पर्यटनको बलियो सम्भावना बोकेको छ।
मन्दिरको भौगोलिक अवस्थिति, प्राचीन शिलास्वरूप, ऐतिहासिक किंवदन्ती, गुठी परम्परा र मौलिक चाडपर्वलाई एकीकृत रूपमा प्रचारप्रसार गर्न सके स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरूलाई ठूलो सङ्ख्यामा आकर्षित गर्न सकिन्छ।
भेरी करिडोर सडकमार्गको सुधार, मन्दिर परिसरको व्यवस्थित व्यवस्थापन, पुराना अभिलेखको संरक्षण र सांस्कृतिक परम्पराको दस्तावेजीकरण गर्न सके बाला त्रिपुरासुन्दरी मन्दिर डोल्पाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रमुख आधार बन्ने निश्चित छ।
No ads found for this position




Facebook Comment