११ महिनासम्म निर्णय सुरक्षित राखिएपछि आक्रोशित वकिलले इजलासमै आफ्नै कुर्सी जलाए

डिसी नेपाल
२३ असोज २०८३ १४:११

काठमाडौं । अदालती निर्णयमा हुने ढिलासुस्ती र बारम्बार सर्ने पेसी बाट सेवाग्राही तथा अभियुक्तहरू आजित भएका घटना सामान्य भए तापनि वकिल आफैँ आक्रोशित बनेको एउटा अनौठो घटना बाहिर आएको छ। पाकिस्तानको हैदराबादस्थित सिन्ध उच्च अदालतको सर्किट बेन्चमा ११ महिनादेखि फैसला सुरक्षित राखिएपछि एक वकिलले इजलासभित्रै आफ्नै कुर्सीमा आगो लगाएका छन्।

सिन्ध उच्च अदालतको हैदराबाद सर्किट बेन्चका न्यायाधीश जवाद अकबर सावानाले नबाबशाह सँग सम्बन्धित एक देवानी जग्गा विवादको फैसला सुनाउन पुनः अस्वीकार गरेपछि यो घटना घटेको हो। मुद्दाका एक पक्षको तर्फबाट बहस गरिरहेका वकिल सिकन्दर भट्टीले निर्णयमा भएको चरम ढिलाइबाट आक्रोशित बनी कोर्टरुमभित्रै आफू बस्ने कुर्सीमा आगो लगाइदिएका हुन्।

हैदराबाद हाइकोर्ट बार एसोसिएसनका अध्यक्ष अयाज टुनियोले घटनाको पुष्टि गर्दै भने, ‘उक्त मुद्दाको निर्णय गत ११ महिनादेखि लम्बिँदै आएको थियो र आज अन्ततः वकिल सिकन्दर भट्टीको धैर्यको बाँध टुट्यो।’ उनले बार एसोसिएसनले यस घटनाको निष्पक्ष छानबिन गर्ने बताएका छन्। साथै, न्यायाधीश सावानाकहाँ यस्ता कैयौँ मुद्दाका फैसलाहरू महिनौँदेखि अनिर्णित अवस्थामा पेन्डिङ रहेकाले वकिल र सेवाग्राहीहरूमा व्यापक निराशा र आक्रोश व्याप्त रहेको टुनियोले जानकारी दिए।

अदालत स्रोतका अनुसार वकिल सिकन्दर भट्टी विशेष गरी यसकारण पनि बढी भावुक र क्रुद्ध थिए किनभने सो जग्गा विवाद उनको आफ्नै परिवारसँग जोडिएको थियो। नबाबशाहमा विगत कैयौँ वर्षदेखि सो जमिनलाई लिएर कानुनी विवाद चल्दै आएको थियो।

बार एसोसिएसनका अध्यक्ष टुनियोका अनुसार वकिलहरूले हालै न्यायाधीश सावानालाई उनको च्याम्बरमै भेटेर महिनौँदेखि सुरक्षित राखिएका फैसलाहरू यथाशीघ्र सार्वजनिक गर्न र मुद्दाहरूको किनारा लगाउन अनुरोधसमेत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *