प्याराहरू, म अब मान्छे रहिनँ
गोधुली घामको रातो प्रकाश ओढेर
सिलोएटबाट अनन्त नजर घुमाउँदा मैले स्यानो आशासमेत भेटिनँ
नेपथ्यमा सम्राटले मनभरीको आवाज गाए-
‘हजार सपनाहरुको माया लागेर आउँछ’
म सम्राटको विरुद्धमा सोच्छु, अब मलाई हजार सपनाहरूको माया लाग्दैन
आँखा चिम्लिँदा देखिने मुस्कानहरू आजकल आँखा खोल्दासमेत मुस्कुराउँदैनन्
कर्कश लाग्छ घरको ढोकाको आवाज, आजकल मधुराउँदैनन्
न्यानो लाग्दैन शयन
भान्साको भोजनहरूले बोलाउँदैनन्
रातभर ऐँठन हुन्छ, मुस्किलले बौरिन्छु
फेरि दिन फेरिन्छ, म त्यही दोहोर्याइरहन्छु
किनाराको छातीमा बहेको नदीले किनारालाई छोडे झैँ
डालीको गुँडमा हुर्केको बचेराले डाली छोडेर उडे झैँ
फगत म कुरीरहेछु कलकल कन्चन पानी
अनि, रङ्गिबिरङ्गी चरीको चिरबिर आवाज
जुन कहिल्यै फर्किने छैनन्
मलाई हजार सपनाहरूको माया लाग्दैनन्
पहाड पारीको, लिच्चीबारीबाट हरेक दिन मेरो लागि प्रार्थना गर्ने एक जोडी मनहरूलाई म कसरी भनाैं?
कि म गोधुलीमा एक्लै कविता लेखिरहेछु
उम्किन खोजेको चित्कार मैले कसरी रोकिरहेछु?
एकदिन अघि फोनमा हाँसेको हाँसोभित्र मैले कति पीडा लुकाएको छु?
अहँ म भन्न सक्दिनँ…
प्याराहरू, म अब मान्छे रहिनँ
मलाई हजार सपनाहरूको माया लाग्दैन
– काठमाडाैं
No ads found for this position




Facebook Comment