मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा आउँदै
काठमाडौं। काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउन निर्माण सम्पन्न भएको मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइन सञ्चालनमा ल्याउने अन्तिम तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ।
थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको यो खण्ड सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाका लागि विद्युत् आपूर्तिको थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ। यसबाट बढ्दो विद्युत् माग व्यवस्थापन, भोल्टेज सुधार र आपूर्ति प्रणालीको विश्वसनीयता अभिवृद्धि हुने प्राधिकरणको अपेक्षा छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार मातातीर्थ-चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुनेछ।
आगामी हिउँदयाममा उपत्यकाको विद्युत् माग व्यवस्थापन गर्ने उद्देश्यले प्राधिकरणले असोज ८ गते उक्त लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। लाइन सञ्चालनका लागि चोभार सबस्टेसनमा दुईवटा वे निर्माण गरिसकिएको छ।
चोभार सबस्टेसनमा स्थानीय वितरणका लागि ११ केभीका नौवटा फिडर रहेका छन्। सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि कीर्तिपुर, फर्पिङ, पुल्चोक र एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ।
मुख्यतः त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत उपत्यकामा आपूर्ति हुँदै आएकोमा अब चोभारसम्मको प्रसारण लाइनले थप विकल्प प्रदान गर्नेछ।
यसैबीच, चोभारबाट चक्रपथ हुँदै ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ भने पाटन सबस्टेसनलाई समेत १३२ केभी स्तरमा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने १३२ केभी प्रसारण लाइनको ‘रिङ’ संरचना निर्माण गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०५५/५६ देखि थानकोट-चापागाउँ-भक्तपुर आयोजना सुरु गरिएको थियो।
काठमाडौं र भक्तपुरतर्फको निर्माण सम्पन्न भए पनि ललितपुरको खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा स्थानीयको अवरोधका कारण पूर्ण रिङ संरचना सञ्चालन गर्ने योजनामा चुनौती भने कायमै छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment