हिमपातले लिमी र हिल्सा जोड्ने सडक अवरुद्ध, हिउँ पन्छाएर यातायात सुचारु गर्न स्थानीयको माग

डिसी नेपाल
२० असोज २०८३ ८:०२

सुर्खेत। बेमौसममा भएको भारी हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेपछि लिमी तथा हिल्सातर्फको यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक ठप्प भएपछि स्थानीयवासीले तत्काल हिउँ पन्छाएर आवतजावत सहज बनाउन माग गरेका छन्।

नाम्खा गाउँपालिका-५ को न्यालु र वडा नं ६ को नारा लेक हुँदै लिमी प्रवेश गर्ने सडकमा साढे तीन फिटभन्दा बढी हिउँ जमेको छ। असोज पहिलो सातादेखि नै लिमी क्षेत्रको यातायात ठप्प हुँदा स्थानीयवासीलाई अत्यावश्यक कामका लागिसमेत बाहिर जान कठिन भएको लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।

वडाध्यक्ष तामाङका अनुसार लिमीमा कोही बिरामी परे वा अन्य आपत्कालीन काम परे हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। दसैँ-तिहार नजिकिँदै गर्दा चीनको ताक्लाकोटमा रहेका हुम्लावासीलाई घर फर्किनसमेत समस्या भएको छ।

हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता, जनजीवन प्रभावित

न्यालु र नारा लेकमा जमेको हिउँ हटाएर सडक सञ्चालन गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ। सडक अवरुद्ध हुँदा लिमीका तिल गाउँका १८, हल्जीका ९०, जाङका तीन र तुम्लिङका ११ जना होटल व्यवसायी प्रत्यक्ष प्रभावित भएका छन्। ताक्चीमा सञ्चालित दुईवटा होटलको कारोबार पनि प्रभावित बनेको छ।

तीन फिट हिउँमा सुनखानी प्रहरी चौकी: पानी र रासनको सङ्कट

हिमपातका कारण लिमीस्थित सुनखानी प्रहरी चौकीमा कार्यरत सुरक्षकर्मीसमेत समस्यामा परेका छन्। तीन दिन लगातार परेको हिउँले चौकी आसपास करिब तीन फिटसम्म हिउँ जमेको छ। दाउरा अभावमा खाना पकाउन र धारामा पानी जमेकाले खानेपानीको प्रबन्ध मिलाउन सकस भइरहेको छ।

हाल हल्जी गाउँबाट पैदलै दाउरा र खाद्यान्न बोकेर चौकीसम्म पुर्‍याउने गरिएको छ। सुनखानी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकसहित १० जना कार्यरत छन्। हल्जी गाउँमा मात्र फोरजी सेवा सञ्चालनमा रहेकाले सञ्चार सम्पर्कका लागि प्रहरीहरू दैनिक चार घण्टा पैदल हिँडेर हल्जी पुग्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले पछिल्लो वस्तुस्थितिबारे थप जानकारी लिइने बताए।

नारा लेकको हिउँ हटाउन जेसीबी आवश्यक

चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा साढे तीन फिटसम्म हिउँ जम्दा हिल्सा–सिमकोट सडक खण्ड ठप्प छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटाले जेसीबी प्रयोग नगरी सडक खुलाउन असम्भव रहेको बताए।

हिल्सास्थित मानसरोवर होटलकी सञ्चालक पेमा लामाले नारा लेकको हिउँ हटाउन हिल्सा–सिमकोट सडक योजनासँग माग गरेकी छन्। हिल्सामा हाल सशस्त्र प्रहरी, नेपाल प्रहरी, यारी नाका भन्सार र अध्यागमनका कर्मचारीका साथै स्थानीय व्यापारी बसोबास गर्दै आएका छन्।

स्थानीयका अनुसार यस वर्ष १५ वर्षयताकै पहिलो पटक असोज १० गते नै हिल्सामा हिमपात भएको हो। सामान्यतया कात्तिकपछि मात्र बाक्लो हिउँ पर्ने गरे पनि यस वर्ष जलवायु परिवर्तनका कारण चाँडै हिमपात भएको अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *