अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बांगाबीच भेटवार्ता: पुनर्निर्माण र विकासका लागि स्रोत परिचालनबारे छलफल

डिसी नेपाल
२० असोज २०८३ ६:३६

वासिंटन डिसी।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

विश्व बैंकका अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बांगाबीच वासिंटन डिसीस्थित विश्व बैंक मुख्यालयमा सो भेटवार्ता भएको हो।

भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार तथा बीमा र सामाजिक संरक्षणका क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा घनीभूत छलफल गरे।

उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बांगाले नेपालमा बाढी विपद्का कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए।

साथै, सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले पूर्वाधार विकासमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए।

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमलगायतका विकास साझेदारहरूसँग आवश्यक समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रहरूमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिए।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता भएको बताए।

उक्त उच्चस्तरीय भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *