पुस्तकालयको महत्व
वि.सं २०४० साल तिरको मलाई याद छ। गाउँको विभिन्न ठाउँमा गाउँको बीच वा पायक पर्ने ठाउँमा कम्तिमा एउटा वाचनालय बनेको हुन्थ्यो। देशको सबै ठाउँमा थियो कि थिएन थाहा भएन, तर मैले भेटेको त्यही गाउँमा थियो। वाचनालयमा अत्यन्त महत्वपूर्ण र जीवन उपयोगी पुस्तकहरू राखिएको हुन्थ्यो।
त्यतिखेर मानिसहरूलाई दिनमा वाचनालयमा गएर अध्ययन गर्ने फुर्सत प्रायः हुँदैनथ्यो। साँझको खाना खाइसकेपछि मात्र वाचनालयमा गएर अध्ययन गर्ने फुर्सत हुन्थ्यो। वाचनालयहरूमा पनि सबै ठाउँमा सोलार सिस्टम थिएन, लाल्टिन बालेर झुरो (दयालो) बालेर गैस बालेर अध्ययन गर्ने गरिन्थ्यो। त्यतिबेला हालको जस्तो पुस्तकालयमा जाने, चाहेको पुस्तक खोजेर अध्ययन गर्ने चलन थिएन। त्यतिखेर बुढापाखा महिलाहरूको लागि प्रौढ शिक्षा कक्षाको व्यवस्था थियो र महिलाहरू पनि रातिको समयमा प्रौढ शिक्षाले उपलब्ध गराएका किताबहरू अध्ययन गर्दथे। जसलेगर्दा अध्ययन गर्ने बानीको विकास भएको थियो र स्कूल नजाने साना नानीहरूलाई पनि घरमा आमा–बुवा, बाजे–बज्यैले अध्ययन गरेको देख्दा अध्ययनप्रतिको उत्सुकता बढेको पाइन्थ्यो।
त्यसकारण त्यो घर पनि पुस्तकालय सरह नै थियो भन्न सकिन्छ। यस्तै २०४६ सालतिर म डोटी जिल्लाको घण्टेश्वर मा.वि जोरायलमा अध्ययन गर्दा जोरायलको कुँडेल गाउँ भन्ने ठाउँमा एउटा वाचनालय थियो। त्यो वाचनालयको अनुभव मैले लिने अवसर पाएको थिए भने, गाउँघरको प्रौढ शिक्षाको अनुभव पनि मैले त्यतिखेरै लिएको थिए। जसले गर्दा मैले अध्ययनको महत्व, किताब पढ्नुको महत्व हृदय देखि नै अनुभूत गरेको थिए।
त्यतिखेरै हाम्रो देशले राजनैतिक परिवर्तन पाएसँगै म पनि विद्यार्थी राजनीतिमा सरिक भए र मलाई अध्ययनको जरुरी भयो। ठाउँ–ठाउँमा भाषण गर्नुपर्ने विद्यार्थी राजनीतिको महत्व किन ? के–का लागि ? पञ्चायतको विरोध किन र बहुदलको पक्षमा किन र त्यसमा पनि कम्युनिष्ट पार्टीको नजिक किन र हाम्रो देशको लागि कम्युनिष्ट पार्टीको आवश्यकता किन र के–का लागि भन्ने विषयमा जान्न जरुरी हुन्थ्यो।
विभिन्न ठाउँका विद्यालयहरूमा गएर विद्यार्थीहरूलाई प्रशिक्षण दिनुपर्ने हुन्थ्यो। विभिन्न गाउँ–गाउँमा गएर गाउँलेहरू जम्मा गरेर यी विषयहरूमा प्रशिक्षण दिनुपर्ने हुन्थ्यो। सांस्कृतिक टोलिहरू बनाएर गीत र कविता मार्फत जनतालाई आकर्षण गर्नुपर्ने र आफ्ना कुरा बुझाउनु पर्ने हुन्थ्यो। त्यसका लागि बढी भन्दा बढी अध्ययन गर्न जरुरी हुन्थ्यो। वि.सं २०४६ चैत्र २८ गते आफ्नो जीवनको पहिलो चोटी विद्यार्थीको जुलुस निकालेर पहिलो चोटी मञ्चमा प्रमुख अतिथिको रुपमा भाषण गर्दा देखि हालसम्म मेरो राजनीतिक यात्रामा थुप्रै कितावहरू अध्ययन गरेको छु। त्यसमा कार्लमाक्र्सका विभिन्न किताबहरू, वीपीले लेखेका थुप्रै किताबहरू, लेलिनका थुप्रै किताबहरू, संस्कृती सम्बन्धी थुप्रै किताबहरू नेकपा एमालेसँग सम्बन्धित पुष्पलाल र मदन भण्डारी लगायतका थुप्रै पार्टीसग सम्बन्धित किताव दस्तावेजहरू, थुप्रै अध्ययन गरेको छु। जसका कारणले हालसम्म ५८५ वटा प्रशिक्षणहरू पनि दिइसकेको छु।
यसैगरी ४०० जति प्रशिक्षणहरू ठूलठूला विद्वान्हरूबाट पार्टीका विद्वान्, राजनीतिज्ञ संघ–संस्था, सरकारी लगायतका विभिन्न ठाउँमा संलग्न विद्वानहरू द्वारा प्रशिक्षण प्राप्त गर्ने अवसर मिलेको थियो भने, समाजमा विभिन्न ठाउँमा प्रशंसनीय काम गरे वाफत हालसम्म २१ वटा सम्मानित व्यक्तित्वहरूबाट सम्मान प्राप्त गर्ने अवसर पनि प्राप्त भएको छ। यी सबै गतिविधिले वा घटनाले पुस्तकालय र अध्ययनको महत्व बुझाउँछ। वर्तमान अवस्थामा त पुस्तकालय मात्र नभइकन विभिन्न हाम्रो प्रविधिबाट पनि धेरै कुराहरूको ज्ञान लिन सकिने अवस्था छ।
यी पनि पुस्तकालय नै हुन्। त्यसकारण मानव जीवनको लागि अध्ययनको महत्व अत्यन्त अपरिहार्य छ। अर्थात् हामी फुर्सतको समय पुस्तकालयमा बिताउन जरुरी हुन्छ। जसले जीवनलाई सार्थकता दिलाउछ। मेरो निष्कर्स के हो भने मानव जीवनको उज्याले पक्ष पुस्तकालयको अधिकतम् प्रयोग र उपयोग हो भन्ने लाग्दछ।
No ads found for this position


Facebook Comment