बागमतीका तीन सय ४६ जनाको मोतिया बिन्दुको शल्यक्रिया

डिसी नेपाल
१४ माघ २०८१ २३:२४
148
Shares

बरहथवा (सर्लाही) यहाँको बागमती नगरपालिकाका तीन सय ४६ जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ।

बागमती नगरपालिका–५, सोल्टीमा सञ्चालित तीन दिने आँखा शिविरबाट उनीहरुको मोतिया बिन्दुको शल्यक्रिया गरिएको हो। गत माघ ४ गतेदेखि मोतिया बिन्दु पहिचान (स्कृनिङ) शिविर सञ्चालन भएको थियो। उक्त शिविरमा फेला परेका बिरामीको शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले बताए।

बागमती र बरहथवा नगरपालिकामा गरी १० स्थानमा स्कृनिङ शिविर सञ्चालन गरिएको थियो। शिविरमा दुई हजार एक सय ९६ जनाले आँखा जाँच गराएका थिए। शिविरबाट निःशुल्क आँखाको शल्यक्रिया भएकोमा बागमती नगरपालिका–२ की स्थानीय सुन्दरीमाया घिसिङले खुसी व्यक्त गरिन्। ‘मेरो दुवै आँखामा मोतिया बिन्दु भएको थियो’, उनले भनिन्, ‘गतवर्ष एउटा आँखाको शल्यक्रिया गरेको थिएँ, यसवर्ष अर्को पनि गर्न पाइयो।’

बागमती नगरपालिका–४, निवासी तुलाबहादुर विश्वकर्माले उपचारकै लागि टाढा जान नसक्नेहरु शिविरबाट लाभान्वित भएको बताए।

बागमती नगरपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। शिविरमा तिलगंगा आँखा प्रतिष्ठानकी नेत्र रोग विशेषज्ञ चिकित्सक डा सञ्जिता शर्मा नेतृत्वमा डा सुदीपराज भण्डारी र डा छिरिङको टोली खटिएका थिए। एकै दिन एक सय ४३ जनाको आँखामा भएको मोतिया बिन्दुको शल्यक्रिया गरिएको चिकित्सक शर्माले जानकारी दिए।

नगरपालिकाले तिलगंगासँगको सहकार्यमा हरेक वर्ष आँखा शिविर सञ्चालन गर्दै आएको छ। विपन्न नागरिका लागि बर्सेनि निःशुल्क शिविर आयोजना गरिएको नगरका कार्यवाहक मेयर कृष्ण लामाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.