च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध पाकिस्तानले टस जितेर ब्याटिङ गर्दै
काठमाडौं । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदै छ। दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।
समूह ए मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी-२० विश्वकपमा खेलेका थिए। पछिल्ला बर्षहरुमा आइसीसी प्रतियोगिता बाहेकका खेल नखेलेका भारत र पाकिस्तानबीचको क्रिकेट खेल बहुप्रतिक्षित हुने गर्दछ।
प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने पाकिस्तान घरेलु मैदानमा न्यूजील्याण्डसँग हार बेहोरेर दबाबमा रहेको छ। यसअघि २०१७ मा भएको च्याम्पियन्स ट्रफीमा फाइनलमा भारतलाई पराजित गर्दै पाकिस्तानले उपाधि जितेको थियो ।
यो खेल जितेमा भारत सेमिफाइनलमा पुग्ने हुनाले पनि उसका लागि महत्वपूर्ण खेल रहेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले हार बेहोरेमा प्रतियोगिताबाट नै बाहिरिने भएकाले जित्नैपर्ने दबाबका बीच खेल्दै छ।
पछिल्लो सिरिजहरुमा भारत र पाकिस्तानले एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। भारतले घरेलु मैदानमा इङ्ल्याण्डविरुद्ध खेलेको सिरिज क्लीन स्वीप गरेको थियो भने पाकिस्तानले अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धका सिरिज जितेपछि घरेलु मैदानमा खेलेको त्रिकोणात्मक सिरिजको फाइनलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो।
एकदिवसीय क्रिकेटमा दुवै टिम अहिलेसम्म १३५ पटक आमने सामने भएका छन्। जसमा पाकिस्तानले धेरै खेल जितेको छ। पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन।







डिसी नेपाल







Facebook Comment