आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क

डिसी नेपाल
२६ चैत २०८१ १२:४६
36
Shares

दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ। गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार निःशुल्क हुने जानकारी दिए। उनले भने, ‘विद्यार्थीको हितका लागि यो निर्णय गरिएको हो, अन्यत्रको अस्पतालको हकमा भने यो निर्णय लागू हुँदैन।’

शिक्षा समितिको बैठकले निजी र सामुदायिक विद्यालयले पुनः भर्ना शुल्क वा वार्षिक शुल्क नलिने निर्णय गरेको छ। निजी विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको चुमानले बताउनुभयो। केही विद्यालयले भर्ना शुल्कमा नाममा पैसा लिएको गुनासो आएपछि आफूहरूले यसमा चासो लिएको चुमानको भनाइ छ।

स्वास्थ्यचौकीका रुपमा रहेको आँबुखैरेनी स्वास्थ्यचौकीलाई वि.सं. २०७९ मङ्सिर १ गते अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो। स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो। अस्पतालले तनहुँको आँबुखैरेनीका अलावा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ।

गाउँपालिकाले शिक्षा सुधार अभियान सञ्चालन गरिरहेको छ। अध्यक्ष चुमानले भने, ‘हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्न योजनासहित अगाडि बढेका छौं।’ आँबुखैरेनीका छ वडामा ३५ सामुदायिक विद्यालय छन्। ती विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.