श्रमिक दिवसमा कैलालीमा ९३ जनाद्वारा रक्तदान
धनगढी । श्रमिक दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा ९३ पिन्ट रगत संकलन भएको छ। १३६औं अन्तराष्ट्रीय श्रमिक दिवसको अवसर पारेर विभिन्न स्थानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त परिणामको रगत संकलन भएको प्रादेशिक रक्तसंचार केन्द्र धनगढीले जानकारी दिएको छ।
सुदूरपश्चिम मोबाइल ब्यवसायी संघले धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन्। संघका अध्यक्ष सन्तोष मण्डलले श्रमिक दिवसमा अन्य कार्य गर्नुभन्दा रक्तदान कार्यक्रम गरिएको बताए। उनले गर्मीको समय भएका कारण बिरामीलाई रगत आवश्यक पर्ने हुँदा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै सम्पूर्ण स्वयमसेवी रक्तदातालाई धन्यवाद दिए।
त्यस्तै, अत्तरियामा रहेको जय गोदावरी धामले समेत श्रमिक दिवसको अवसरमै स्व. प्रेम स्मृति दिवस बृहत रक्तदान कार्यक्रमको आयोजना गरि ३८ पिन्ट रगत संकलन गरेको छ। जय गोदावरी धामका संयोजक धिरेन्द्र बोगटीले स्वर्गीय प्रेम भट्टको स्मृतिमा श्रमिक दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै रक्तदातालाई धन्यवाद दिए।
यसैगरि श्रमिक दिवसकै अवसर पारेर नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ धनगढीले समेत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। प्रादेशिक रक्तसंचार केन्द्र धनगढीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ९ जनाले रक्तदान गरेको संघका अध्यक्ष लक्ष्मण ठकुराठीले जानकारी दिए।
रक्तदान कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत एवं सर्वाधिक रक्तदाता दीपक उपाध्यायको प्रेरक उपस्थितिमा रक्तदाताहरूलाई हौसला एमं प्रमाण पत्र वितरण गरिएको थियो।







डिसी नेपाल








Facebook Comment