कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्णः सभामुख

डिसी नेपाल
१८ वैशाख २०८२ १७:०३
28
Shares

ललितपुर। सभामुख देवराज घिमिरेले पारदर्शी, उत्तरदायी र कानुनी शासनको निर्माणमा लेखापढी व्यवसायीको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको नवौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले बुझिने भाषामा कानुनको व्याख्या गरी कामकाजमा सहजीकरण गर्ने कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।

‘नागरिक र सरकारी कार्यालयबीच सहजता कायम गर्न लेखापढी व्यवसायीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ’, सभामुख घिमिरेले भने, ‘जिल्ला प्रशासन, मालपोत तथा नापीजस्ता सरकारी कार्यालयमा विभिन्न प्रकारका कागजपत्र तयार गर्दा नागरिकलाई कानुनी प्रक्रिया, निवेदन लेखन, अभिलेख व्यवस्थापन जस्ता कार्यमा मार्गदर्शनसहित सहजीकरण गरी सेवाग्राहीलाई सहयोग गर्ने काममा लेखापढी व्यवसायी केन्द्रित हुन आवश्यक छ।’

सभामुख घिमिरले भने, ‘सेवाग्राहीका निवेदन, लिखत तथा अन्य कागजात मस्यौदा गर्ने, घरसारका लिखत तयार गर्नेलगायत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै स्वरोजगारको बलियो माध्यम बनेको यो पेसाबाट धेरै व्यक्ति लाभान्वित भएका छन्। आमजनतासँग प्रत्यक्ष जोडिने यो पेसालाई आयआर्जनसहित अझ मर्यादित बनाउने जिम्मेवारी यहाँहरूको हो।’

मालपोत तथा जग्गा नापजाँचसम्बन्धी ऐनमा व्यापक सुधारको आवश्यकता रहेको उनले बताए। कृत्रिम बौद्धिकता (एआई)लगायत प्रविधिको विकाससँगै लेखापढी क्षेत्रमा पनि आवश्यक रूपान्तरणको खाँचो रहेको धारणा राख्दै उनले सूचना प्रविधिको प्रयोगले पेसागत सहजता हुनेभएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता औँल्याए।

सभामुख घिमिरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने कार्यमा आमजनतासँग प्रत्यक्ष जोडिएर कामकाज गर्ने लेखापढी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रसंग उल्लेख गर्दै जनताको विश्वास जित्नेगरी कानुनी राज्य र विधिको शासनका पक्षमा उभिन अनुरोध गरे। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनअन्तर्गत करिब २२ हजार सदस्य रहेका छन्। सो महाधिवेशनमा एक हजार ३०० प्रतिनिधिको सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.