नेपालको कार बजारमा चीनको कब्जा, भारतका ठूला व्यापारीमा खैलाबैला

डिसी नेपाल
२३ वैशाख २०८२ ११:४१
5.3k
Shares

काठमाडौं । नेपालको कार बजारमा भारतीय कम्पनी र ब्राण्डहरुको बर्चश्वलाई चीनले तोडेको छ । सन् २०२५ मा चिनियाँ कम्पनी र ब्राण्डहरुले नेपालको कार बजारको ५२.५ प्रतिशत हिस्सा ओगटेका छन् । नेपाली कार बजारमा भारतीय ब्राण्ड र कम्पनीहरुले आफ्नो वर्चश्व गुमाएको यो पहिलो पटक हो ।

जीवाश्म इन्धनको विकल्पको रुपमा पछिल्ला केही दशकयता बजारमा आएका विद्युतीय कारहरु नेपालमा पनि लोकप्रिय हुँदै गइरहेका छन् । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन अर्थात इभीहरु लोकप्रिय हुँदै जाँदा नेपाली उपभोक्ताले समेत भारतीय ब्राण्डको तुलनामा चिनियाँ ब्राण्डहरु रोज्न थालेका छन् ।

भारतीय बजार टिप्पणीकार जयन्त मुन्ध्राले आफ्नो लिंक्डइनमा लेखेका छन् ‘यो धेरै ठूलो कुरा हो । मारुती, टाटा, महिन्द्रा र अन्य भारतमा निर्मित कारहरुले लामो समयदेखि नेपाली बजारमा प्रभुत्व जमाएका थिए । त्यो प्रभुत्व अब हराएको छ र सबैभन्दा खराब कुरा यो भारतको सबैभन्दा ‘सहज’ बजारमा भएको छ ।’

नेपालको कूल विद्युतको ८५ प्रतिशत हिस्सा जलविद्युतले ओगटेको छ र नेपालमा जलविद्युत अहिले उत्पादन भएको भन्दा कैयौं गुणा धेरै उत्पादन हुन सक्छ । आन्तरिक खपतपछि पनि नेपाल ठूलो परिमाणमा विद्युत निर्यात गर्न समेत सक्षम हुन सक्नेछ । यस्तोमा नेपाली बजारमा विद्युतीय कारको लागन तुलनात्मक रुपमा धेरै कम हुन जान्छ ।

आन्तरिक दहन इन्जिनबाट सञ्चालन हुने पेट्रोल वा डिजेल कारको तुलनामा नेपालमा विद्युत सस्तो छ र अझै सस्तो हुने सम्भाव्यता छ । अर्कोतर्फ जीवाश्म इन्धनबाट चल्ने कारको लागि इन्धन प्राप्त गर्न समेत नेपाल भारतमै निर्भर रहनुपर्ने बाध्यता रहेकोमा इभीमा त्यो बाध्यता छैन । यही कारणले पनि नेपाली उपभोक्ता विद्युतीय कारतर्फ आकर्षित भएको बजारका बारेमा जानकारहरु बताउँछन् ।

चीनले सम्पूर्ण कारहरुको बजारमा भारतलाई उछिनेको हो । विद्युतीय कारको मात्रै कुरा गर्ने हो भने त चीनले भारतलाई धेरै पछाडि छोडिसकेको छ । जयन्त मुन्ध्राका अनुसार नेपालमा २०२५ मा बिक्री भएका नयाँ कारहरुमध्ये ७५ प्रतिशत विद्युतीय कारहरु थिए । विद्युतीय कारहरुमध्ये ७० प्रतिशत चीनबाट आएका थिए । चिनियाँ कार निर्माताहरुले भारतको बजारमा प्रभाव पारेको मात्र नभइ उनीहरुले बजार कब्जामा लिएको मुन्ध्राको विश्लेषण छ ।

पछिल्लो तथ्यांकले भारतीय बजारमा खैलाबैला मच्चाएको छ । बजार विश्लेषक मुन्ध्रा भन्छन् ‘टाटा वा महिन्द्राका इभीहरु चिनियाँ कारजत्तिकै राम्रो छन् भन्ने दाबी गर्नेहरुले अब पछाडि फर्किएर सोन्चुपर्छ । यदि तिनीहरु दाबी गरिएजत्तिकै राम्रा भएको भए नेपालजस्तो तटस्थ बजारमा तिनीहरुको बिक्री यसरी हराउने थिएन ।’ मुन्ध्राले भारतीय ब्राण्डहरुले आफ्नै स्वदेशी बजार पनि जोगाउन नसकेको बताए ।

मुन्ध्राका अनुसार भारतीय बजारमा पनि चीनमा बनेका एमजी कम्पनीको विन्डसर कार र बीवाइडी ब्राण्ड बजार कब्जा गर्ने होडमा छन् । ‘विन्डसरले टाटाको नेक्सन र अन्य ब्राण्डहरुलाई धुलो चटाएको छ’ उनले भने ‘भारी आयात कर तिरेर पनि यी ब्राण्डहरु भारतीय बजारमा अझै सस्तो छन् ।’ भारत सरकारले आफ्नो बजारमा स्वदेशी ब्राण्डहरुलाई रक्षा गरिरहेकोले मात्रै उनीहरु भारतीय बजारमा टिकेको अन्यथा उनीहरुको अवस्था नेपालमा जस्तै हुने उनी बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.