नीति तथा कार्यक्रमकाे पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप

डिसी नेपाल
२६ वैशाख २०८२ १४:३५
100
Shares

काठमाडौं। नेकपा (एमाले) ले अनिवार्य रुपमा उपस्थित भएर सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ। एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार सरकारको नीति तथा कार्यक्रम आगामी आइतबार निर्णयार्थ पेश हुनेछ । उक्त दिन उपस्थित भएर पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको बर्तौलाले बताए।

एमालेले ह्वीपमा भनेको छ, ‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमु लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ।’

एमालेका मुख्य सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रम प्रगतिशील, व्यवहारिक र जनमुखी रहेको जिकिर गरे।

‘यो नीति तथा कार्यक्रम प्रगतिशील ,व्यवहारिक र जनमुखी रहेको छ। देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान विद्यमान परिस्थितिका सिमाहरुलाई पुर्णतया ख्याल गर्दै देश र जनताको हितलाई केन्द्रमा राखी विकास , समृद्धि, सुशासन र सेवा प्रवाहलाई उच्च महत्व दिएर आएको नीति तथा कार्यक्रमलाई पूर्ण समर्थन गर्दै यसको पक्षमा सकारात्मक ढंगले संसदमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने संसदीय दलको बैठकले निर्णय गरेको छ।’ बर्तौलाले भने,‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न तथा लोकतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोडी सामाजिक न्याय र समाजवादका आधार तयार गर्न, राष्ट्रिय एकता सुदृढ पार्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा त्यसैको माध्यमबाट नीतिगत स्थायित्व सुनिश्चित गर्न मार्गनिर्देशन गरेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.