मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन हुने तर स्वच्छ छैन सभामुखको इतिहास
काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित हुने भएका छन्। प्रचलित कानुनी व्यवस्थाअनुसार उनको पद निलम्बन हुनेछ ।
सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्द विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बन हुने भएको हो ।
अब उनी संघीय संसद भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन्। उनको तलब भत्ता पनि रोकिनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ । तर, अहिलेका सभामुख देवराज घिमिरेको कामको इतिहास हेर्दा भने बस्नेतको पद अहिल्यै निलम्बन हुन्छ वा हुँदैन भन्नेमा शंका छ । सांसदको पद निलम्बनको निर्णय सभामुखले गर्नुपर्छ ।
यसअघि नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीविरुद्ध नक्कली शरणार्थी काणडमा मुद्दा दर्ता भइसकेपछि पनि सभामुख घिमिरेले उनको पद निलम्बन गरेका थिएनन् । सांसदलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा मात्र पद निलम्बन हुने प्रतिनिधि सभाको नियमावलीमा टेकेर उनले रायमाझीको पद निलम्बन गरेका थिएनन् ।
रायमाझीलाई अदालतले थुनामा पठाउने आदेश दिइसकेपछि मात्र सभामुख घिमिरेले उनको पद निलम्बन गरेका थिए । तर, अर्का सांसद रवि लामिछानेको हकमा भने उनले मुद्दा दर्ता हुनेबित्तिकै पद निलम्बन गर्ने निर्णय गरेका थिए ।
सभामुखले पुराना निर्णयमा द्वैध चरित्र देखाएको इतिहास हेर्दा उनले बस्नेतको हकमा के निर्णय गर्छन् भन्ने विषयमा चासो बढेको छ । बस्नेत सत्ता साझेदार नेपाली कांग्रेसका सांसद हुन भने सभामुख सत्ताको नेतृत्वकर्ता नेकपा एमालेबाट निर्वाचित सांसद हुन् ।







डिसी नेपाल








Facebook Comment