गुणाकर भट्ट किन पुगे अमेरिका?
सुदूरपश्चिममा कांग्रेसको चर्को विरोध
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्ट यतिबेला अमेरिका पुगेका छन्। सरकारले गभर्नर बनाउने भनेपछि बैशाख ५ मा राजीनामा दिएका भट्टको एक महिना बित्नै लाग्दा न राजीनामा स्वीकृत भएको छ, न उनी गभर्नरमा नियुक्त भएका छन्।
भट्टको नाममा हलो अड्किएपछि सरकारले गभर्नरका लागि फरक व्यक्तिको खोजी थालेको छ। सत्ता गठबन्धनभित्र कांग्रेसको भागमा गभर्नर परेपछि शेरबहादुर देउवाले भट्टलाई अघि सारेका थिए। तर, कामु गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेर हलो अड्काएपछि सत्ता गठबन्धन गभर्नर कसलाई बनाउने भन्ने सकसमा छ।
यहीबीच कांग्रेसले भट्टको नाममा सहमति नजुटेपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम अघि सारेको छ। उनी गभर्नर सिफारिस समितिमा सदस्य थिए।
कांग्रेसले आफ्नो नाम अघि सारेसँगै पौडेलले पनि गभर्नर हुने लोभमा सिफारिस समिति सदस्यबाट २८ बैशाखमा राजीनामा दिइसकेका छन्। तर, उनको नाममा सहमति जुट्ने संकेत पनि देखिएको छैन।
मौद्रिक नीतिको राम्रो ज्ञान नभएको र गभर्नर बन्न योग्य नरहेको भन्दै उनको नाममा समेत विरोध हुन थालेको हो। यस्तो खिचातानीले गर्दा एक महिनादेखि राष्ट्र बैंक गभर्नरबिहीन छ। र, सरकार बिचौलियाको चंगुलमा फसेको भन्दै चौतर्फि आलोचना भइरहेको छ।
भट्ट योग्य व्यक्ति हुँदाहुँदै सरकारले गभर्नर नियुक्त नगरेको भन्दै विरोधसमेत भइरहेको छ। भट्टको गृह प्रदेश सुदूरपश्चिममा त झनै कांग्रेस र सरकारको चर्को विरोध भइरहेको हो।
भट्ट बेदाग छवि भएको व्यक्ति हुँदाहुँदै राजनीतिक दलहरूले गभर्नरका लागि प्रतिवद्धता जनाएर कार्यरत पदबाट राजीनामा दिनलगाएर भावनामाथि खेल्ने काम गरेको भन्दै चर्को विरोध भइरहेको हो।
सुदूरपश्चिममा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले भन्दा पनि नेपाली कांग्रेस र सभापति देउवाको चर्को विरोध भइरहेको हो। शिक्षासेवी एवं कांग्रेस निकट मोहन भट्ट कांग्रेसले एक इमान्दार र स्वच्छ छवि भएको व्यक्तिको भावनामाथि सरकारले खेल्ने काम गरेको आरोप लगाउँछन्।
‘सुदूर सधैँ राज्यको नजर र भूमिकामा दूर छ। यस पटक एक जना योग्य व्यक्ति गभर्नरको लाइनमा हुनुहुन्थ्यो। गुणाकरका विषयमा हामीले राज्यलाई कृपा गरिदिनुहोस् भनिरहेका छैनौं। योग्य व्यक्तिलाई उचालेर नपछारिदिनुहोस् मात्र भनिरहेका हौं। उहाँको इमान्दार व्यक्तित्वमाथि ठेस पुर्याउने काम नगरिदिनुहोस् भनिरहेका छौं,’ उनले भने।
कार्यकारी निर्देशक पदमा रहेर भट्टले देशका लागि आफ्नो योग्यता प्रस्तुत गरिरहेको अवस्थामा गभर्नरको प्रलोभन देखाएर गरिरहेको सेवाबाट समेत विमुख हुने स्थिति सरकारले नै सिर्जना गर्नु दुखद् भएको उनको टिप्पणी छ।
भट्टका विषयमा देउवासँग आफूहरूले पटक-पटक छलफल गर्दा सकारात्मक प्रतिक्रिया पाए पनि पछिल्लो समय त्यो अवस्था फेरिएको उनले बताए। ‘देउवाले बोलेको पूरा गर्नुहुन्छ। उहाँ बचनमा अडिग व्यक्ति हो भन्ने हाम्रो विश्वास थियो। उहाँलाई हामीले सुदूरपश्चिमबाट कहिले पराजित गरेनौं। गौरवको रुपमा लियौं। त्यसैले उहाँले त्यहाँका हामी जनताको भावनामाथि खेलवाड गर्नु हुँदैन र त्यस्तो गर्नु हुनेछैन भन्नेमा अहिले पनि विश्वस्त छौं,’ उनले भने।
देउवाले बैशाख १२/१५ गतेसम्म हुन्छ भन्दा विश्वास लाग्ने अवस्था रहे पनि अहिले त्यो अवस्था न्यून हुँदै गएको मोहन भट्टको भनाइ छ। भट्टलाई गभर्नर बनाउँदा पैसा नखाइकन योग्य व्यक्तिलाई बनाए भन्ने सन्देश जाने भए पनि पछिल्लो घटनाक्रमले सरकार र राजनीतिक दलप्रतिको त्यो विश्वास गुमेको उनले बताए।
नेपाल किसान महासंघ कैलालीका अध्यक्ष रविन पन्त सम्पूर्ण सुदूरपश्चिमेलीको साथ गुणाकर भट्टलाई रहेको बताउँछन्। ‘सम्पूर्ण सुदूरपश्चिमेलीको साथ गुणाकर भट्टलाई। उनको पक्षमा कोई खुलेरै बोल्छ्न्, कोई बोल्दैन, मौन समर्थन मात्रै गर्छन्। फरक तेत्ति मात्रै हो,’ उनले सामाजिक सञ्जाल फेसबुकका लेखेका छन्।
भट्टको पारिवारिक स्रोतका अनुसार उनी व्यक्तिगत कामको सिलसिलामा अमेरिका पुगेका हुन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार छोरीको कलेजको ग्र्याजुएसनका लागि अमेरिका पुगेका भट्ट आगामी सोमबार नेपाल फर्किने छन्।
गिजोलिँदो गभर्नर नियुक्तिको चक्रव्यू
नेपाल सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस गर्न २० फागुनमा समिति गठन गर्ने निर्णय गरेको थियो। समिति अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको थियो।
त्यसपछि गभर्नर बन्ने लोभमा चैत १२ मा ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकको सीईओबाट राजीनामा दिएका थिए। चैत १३ मा प्रकाशकुमार श्रेष्ठले गभर्नर बन्ने भन्दै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए।
चैत २४ मा गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकियो र राष्ट्रबैंक नेतृत्वबिहीन भयो। सरकारले चैत २५ मा नीलम ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दियो।
कांग्रेसले गभर्नर पाउने सहमति भएपछि बैशाख ५ मा गुणाकर भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिए। बैशाख ९ मा गभर्नर सिफारिस समिति सदस्यबाट विजयनाथ भट्टराईले राजीनामा दिए।
यो श्रृंखला यत्तिमै रोकिएन। गभर्नर कार्यकालपछि बाहिरिएका अधिकारीलाई नै सरकारले फेरि बैशाखा १७ मा सिफारिस समिति सदस्यमा नियुक्त गर्यो। तर, बैशाख २५ मा अधिकारीको योग्यदामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भयो।
त्यसपछि पुन: २८ बैशाखमा गभर्नर हुने लोभमा सिफारिस समिति सदस्यबाट विश्व पौडेलले राजीनामा दिए।
बैशाख ३१ मा सरकारले फेरि पौडेलको स्थानमा अर्थविद् डा. पोषराज पाण्डेलाई सदस्य नियुक्त गरेको छ। गभर्नर नियुक्त गर्नुको साटो यस्तो खाले विवाद र राजीनामाको चक्र अझैँ पनि चलिनै रहेको छ। यमस्या समाधान गर्दै यसको अन्त्य कहिले हुन्छ? स्वयं सरकारलाई समेत थाहा छैन।
यो पनि पढ्नुहोस्,
राजनीतिक स्वार्थको जाँतोमा नपिसियोस् गुणाकरको बेदाग छवि
प्रधानमन्त्रीलाई नटेर्ने कामु गभर्नरका अगाडि निरीह सरकार र सत्ता गठबन्धन







डिसी नेपाल








Facebook Comment