धरान र विराटनगर भ्रमण अन्तिम भाग (५) : धरान र भेडेटार

कपिल लोहनी
१० जेठ २०८२ ७:१४
564
Shares

बिहान उठेर हिजो जस्तै हिँड्न बाहिर निस्कियौँ। तर आजको हिँडाई घोपा क्याम्पतिर भयो। होटेलबाट पश्चिमको बाटो हुँदै हामी सैनिकचोक र त्यसपछि बुद्धचोक पुग्यौं र त्यहाँबाट थोरै दक्षिण लागेपछि घोपा क्याम्पको मुल ढोकामा पुगिहाल्यौं। हिजोआज यो ठाउँलाई घोपा क्याम्प भन्दा नयाँ पिँढीले बुझ्दैनन्।

किनकी यहाँको बृटिशहरूको गोर्खा भर्ती केन्द्र बन्द भएको पनि तीन दशक जति भइसकेको छ। बृटिशले सो क्याम्पको हाता र भौतिक पूर्वाधार नेपाल सरकारलाई हस्तान्तरण गरे पछि यो ठाउँका सबै संरचनाहरू र पुरै क्षेत्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा पुग्यो।

बृटिशले बनाएका गोरा र गोर्खा अफिसर तथा अन्य दर्जाका फौजी बस्ने घर, गेष्ट हाउस, सभाहल, दुई वटा पौडी पोखरी, गीर्जा घर (चर्च), मन्दिर, बीएफबीएस रेडियोको प्रसारण केन्द्र, टेनिस, स्क्वास तथा व्याडमिन्टन कोर्ट, फुटबल र क्रिकेट मैदानहरू, गल्फ कोर्स, घना जंगल, पुरानो अस्पताल, विद्युत उत्पादन गृह, गाडी मर्मत ग्यारेजलगायत विशाल संरचना सबै सो प्रतिष्ठानको मातहतमा पुग्यो।

पछि सो प्रतिष्ठानको स्थापनाको दौरान भारत सरकारले त्यहाँ अस्पताल भवन, नर्स, डाक्टर र प्रशासनिक कर्मचारी क्वार्टर, विद्यार्थी होस्टेल आदि धेरै संरचनाको निर्माण गरिदियो। यो सायद दक्षिण एसियाकै सबैभन्दा ठूलो शिक्षण अस्पताल परिसर हो।

यो प्रतिष्ठानको व्यवस्थापनमा राजनीतिकरण हुन थाले पछि यो सब कुरा नराम्ररी बिग्रन थालेको छ। यहाँ भित्र भएका निकै पुराना रुखहरूको बोटानिकल र चलनचल्तीको नाम अंकित प्लेटहरू पनि हराउन थालेका रहेछन् भने घरहरू मर्मतको अभावले पुराना देखिन थालेका छन्। तर सरसफाई भने नियमित छ।

शुरुको दिनदेखि नै यो विशाल अस्पतालमा नेपालका नाम चलेका चिकित्सकहरू स्थायी रूपमा आएर काम गर्न अनिच्छुक देखिएका थिए। कारण राम्रो कमाई नहुने भएकोले हुन सक्छ।

शुरुमा धरान सानो शहर भएको र माओवादीहरूको डर र त्रासले गर्दा पनि यहाँ आएर काम गर्ने आकर्षण नभएको हुन सक्छ त्यतिबेला। हिजोआज यहाँ प्रायः हड्ताल र चरम आर्थिक अनियमितता भइरहने भएर पनि राम्रा चिकित्सकहरू टाढिएका होलान्।

अस्पताल परिसरमा निकै स्तरीय गल्फकोर्स छ। निर्वाण कन्ट्री क्लबलाई ५० वर्षको भाडामा दिइएको यो परिसरमा पहिले बृटिश गोर्खाका गोरा अफिसरहरू बस्न बनाइएका १० वटा निकै राम्रा बंगलाहरू छन्। तर तिनको उचित सम्भार नगरिएकोले आज भुत–बंगला जस्ता बन्न पुगेका छन्।

बस्न पनि डरमर्दो। यो गल्फकोर्स भएको ठाउँमा उत्तर-दक्षिण भएर साना विमान उड्न र अवतरण गर्न सक्ने एक सैन्य विमानस्थल पनि बनाएका थिए बृटिशहरूले। यसको भग्नावशेष अझै भेटिन्छ यहाँ।

पछि बृटिश सेनाका कर्णेल नफिल्डको डिजाइन मुताविक सन् १९५० को दशकमा यो नौ होलको गल्फ कोर्स बनाइएको हो। यहाँको घाँस पनि बेलायतीहरूले निकै मन पराउने नश्लको छ, जुन काठमाडौंको बृटिश राजदूतावासमा र लण्डनका पार्कहरूमा पनि रोपिएको पाइन्छ। नेपालका धेरै राष्ट्रिय स्तरका गल्फरहरू यहीँका उत्पादन हुन्। सो गल्फकोर्सको एक कुनामा बृटिश चिहानस्थल रहेको छ।

बीपी अस्पतालबाट फर्कने बेला मुल ढोकामा रहेको एक होटेलमा चिया पिउँदै त्यहाँको भिडभार र चहलपहलको अवलोकन गर्‍यौं। यो ठाउँमा अस्पताललाई लक्षित गर्दै लहरै औषधि, फलफूलका पसल र खानपिनका होटेलहरू खुलेका छन्।

अनि बुद्धचोकमा आएर त्यहीँ अवस्थित बिमल गुरुङ स्मारक पुस्तकालयको पनि अवलोकन गर्‍यौं। २०४० सालको पूवार्धमा धरानमा बिमल गुरुङ नामका अति प्रखर नवयुवकले एक राम्रो कविको रूपमा आफूलाई चिनाउन सफल भएका थिए।

तर १९ वर्षको कलिलो उमेरमा नै उनको दुःखद् निधन भएकोले उनका पिता पूर्णबहादुर गुरुङले २०४८ सालमा आफ्नै पक्की घरमा उनको स्मृतिमा एक पुस्तकालय र उनको शालिक स्थापना गरे।

यो पुस्तकालयमा आज विभिन्न विषयका हजारौं पुस्तकहरू राखिएका छन् भने धेरै दाताहरूले पुस्तक र भौतिक पूर्वाधारको जोहो गरिदिएका छन्। श्री पूर्णबहादुर गुरुङसँग केही बेर चियाको चुस्कीका साथै भलाकुसारी गरेर सो पुस्तकालयको निम्ति केही पुस्तक उपहार स्वरुप दिए पछि उनीबाट प्राप्त केही थान विमल गुरुङकृत कविताका पुस्तक र सो पुस्तकालय बारेको जानकारी पुस्तिका हातमा च्यापेर हामी होटेलतर्फ लम्कियौं।

यतिबेला भानुभक्तलाई घाँसीको ठूलो मनले प्रभाव पारेर आफू धनी भएर पनि लाचार भएकोले फुरेको कविता याद आयो- ‘भरजन्म घाँसतिर मन दिई धन कमायो, नामक्यै रहोस् भनेर कुवा खनायो, घाँसी दरिद्री घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन आज यस्तो’।

बिहानको मिठो खाना होटेलमा नै खाएर हामी धरान-१० मा अवस्थित आँगन होटेल अगाडीको दाजु युवराज राईका छोरा तथा मेरा भतिज अविनाशले शुरु गरेको भव्य कफीशपमा बसेर एकल व्यक्तित्व समाज नेपालको सुनसरी च्याप्टरको स्थापना बारेको छलफलमा लाग्यौं।

निरन्तर कफीको चुस्कीसँगै चलेको लामो छलफल पछि श्री सकुन्तला सुब्बाको अध्यक्षतामा श्री अशोक ताम्राकार उपाध्यक्ष र श्री सीता तुलाधर कोषाध्यक्ष रहनु भएको सात सदस्यीय तदर्थ समितिको गठन गरियो। यसरी हामी एकलहरूको हितको निम्ति स्थापित संस्था राजधानी बाहिर हाँगा फैलाउने कार्यको श्रीगणेश भयो।

काम फत्ते भएकोले प्रसन्न मुद्रामा होटेलमा आएर सामान प्याक गर्नुका साथै होटेलको बिल तिरेपछि फेरि फेरि आएर त्यहीँ बस्ने वाचाका साथ हामी भाइ रञ्जितको निजी गाडीमा भेडेटारतिर हुइँकियौं। खाली बाटोमा उकालै उकालो चढ्दै गएसँगै मौषम झनै चिसिँदै गयो।

आखिर आधा घण्टाको सफर यानी १६ किलोमिटर पार गरेपछि हामी १,४२० मिटरमा अवस्थित भेडेटार पुग्यौं। सानो तर अति मनमोहक बजार। जिल्ला धनकुटा। बजारमा नै इमानसिंह चेमजोङको सुनौलो शालिक। सन् १९०४मा भारतको दार्जिलिङमा जन्मेका चेम्जोङ किराँत जातिको बारेका इतिहासकार, लेखक, लोककथाकार र दार्शनिक थिए।

पर उत्तरमा धनकुटा र सोभन्दा माथि हिले पनि प्रष्ट देखिए। तल तमोर उपत्यका। कस्तो मनमोहक ठाउँ। अहिलेको अहिले मौसममा फेरबदल भइरहने। कहिले घमाइलो, एकैछिनमा हुस्सु र कुहिरो र फेरि वर्षात् र घाम।

यहाँको यस्तो रमणीयताबाट प्रभावित भएर नै मैले आजभन्दा करिव २५ वर्ष पहिले भेडेटारको बयानमा आफ्नै स्वर, संगीत र रचनामा एक म्युजिक भिडियोको निर्माण गरेको थिएँ। युट्युवमा कपिल लोहनी भित्र ‘जाउँ जाउँ साथी–सङ्गी भेडेटारको, स्वच्छ हावामा रमाउँ’ दाबे पछि सो गीतको मजा लिन सकिने छ।

बेलायत सरकारले जोगवनीदेखि धनकुटासम्म बनाइदिएको सडकको एउटा हिस्सामा भेडेटार पर्छ। बेलायतले आफ्नो मुलुकमा होस् वा अन्य मुलुकमा सडक बनाउँदा यस्ता मनमोहक अग्ला ठाउँ भेटिएमा यात्रुलाई केही बेर सुस्ताउने ठाउँको रूपमा विकास गर्दा रहेछन्।

चितवनबाट वुटवल जाने महेन्द्र राजमार्गमा मैदानै मैदान सडक लग्न मिल्ने भए पनि दाउन्नेको डाँडा हुँदै यसै गरि सडक लगिएको छ। तर हामीले यस्तो रमणीय स्थललाई जगेर्ना गरेर बुझ्न तथा हिलस्टेशनको रूपमा विकास गर्न सकेका छैनौँ।

हाम्रा पूर्वजले फिरङ्गीको हमलाबाट बच्न यस्तै अग्ला ठाउँमा गढीहरू बनाएका थिए। तर ती सब भग्नावशेष भएर बसेका छन् भने आज आएर तिनलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने सोच बल्ल आएको छ। सिन्धुली गढी, सिसा गढी देउराली, मकवानपुर गढी आदि जस्तै।

कुनै बेला बेलायतका तत्कालीन युवराज र आजका राजा चाल्र्सले यो क्षेत्रको भ्रमण गर्दा भेडेटारको सबैभन्दा उच्च विन्दुबाट चारैतिर हेरेर निकै मोहित भएका थिए रे। त्यसैले त्यो उच्च बिन्दुलाई आज पनि चाल्र्स प्वाइन्ट भनिन्छ।

त्यहाँ बनेको भ्यूटावर २०७२ सालको भूकम्पले क्षतिग्रस्त भए पछि त्यहाँ अर्को बलियो टावर बनाउनु पर्नेमा आज नेता र व्यापारीको मिलेमतोमा स्काई ह्याङ्गिङ रिक्रिएशनस्थल बनाइएको छ। तर कतैबाट पनि प्रतिकार गरिएको सुनिएन। भेडेटारबाट उत्तरतर्फ अलिक तल मनमोहक नमस्ते झरनाको अवलोकन गर्न सयौँ पर्यटक आउने गर्दछन्।

भेडेटारमा प्याराग्लाइडिङ जस्ता साहसिक खेलकुदको पर्यटनलाई बढावा दिने काम पनि नभएको होइन। त्यस्तै तमोर नदीबाट कोशीसम्म ¥याफ्टिङ गराउने व्यवसाय पनि सञ्चालन भएकै हो, तर सायद त्यहाँको भ्रमणमा आउने आन्तरिक र वाह्य पर्यटकको कमीले गर्दा होला यस्ता खेलाहरू खासै सफल भएको पाइँदैन।

भेडेटारबाट राजारानी जाने बाटोमा रहेको नयाँ होटेल बुद्धमा हामी पुग्यौं। हाम्रा मित्र रामकाजी गुरुङको मेहनतले स्थापित यो होटेलमा केही समय अघि राजा ज्ञानेन्द्र पनि सपरिवार आएर बसेका रहेछन्।

धनकुटा र सो क्षेत्रका अन्य ठाउँमा भ्रमण गर्ने मानिसहरूको बास बस्ने वा खाना खान रोकिने ठाउँ पनि बनेको छ यो सुविधा सम्पन्न होटेल। कोठामा सामान राखेर साथी रामकाजीसँग होटेलको आँगनमा आगो ताप्दै निकै बेर कुराकानी भयो। छाती काँप्ने जाडो थियो।

हिजोआज व्यापार निकै घटेको कुरा उनी सुनाउँथे। भारत र नेपालको सिमाना जोगवनीबाट डेढ घण्टामा आइपुग्ने यो रमणीय हिलस्टेशनको राम्रो प्रचार नभएर हो या किन हो कुन्नि अझै पनि यो स्थल त्यति चम्किन सकेको छैन। त्यहाँ त्यो राति खाएको ढिँडो सेट ज्यादै स्वादिलो थियो।

चिसो ठाउँमा उब्जाएर भर्खरै टिपेका लामा लामा रायोका साग, बंगुर र लोकल कुखुराको मासु, मासको दाल, काँक्रो र मुला काटेर नुन–खुर्सानीमा चोपेको, भटमास र गुन्द्रुक साँधेको, गोलभेँडाको अचारमा डल्ले खुर्सानी पिँधेर हालेको, सिमीको तरकारी, करेला तारेको र आलुको भुजुरी अनि दही। आहा। अझ हामीले लोकल रक्सी र अन्य मात लाग्ने पेय खान छोडेको बेला। नत्र त त्यहाँको तोङ्बा र सुकुटी। लौ न, सम्झँदै मुखमा पानी आउने।

राति राम्रो निद्रा पर्‍यो। बिहान उठेर राजारानी जाने बाटो तर्फ हल्का हिँडाई। बाटोको दुवैतिर होटेल र रेष्टुरेन्टहरू। तर अधिकांश खाली। शुक्रबार र शनिबार प्रायः भिड लाग्छ क्यार। यो बाटो तयार भए पछि इलामतिर पनि पुग्छ।

अब छिटै तयार होला जस्तो छ। पर डाँडामा नेपाल टेलिभिजनको अग्लो रिले टावर देखिएको। यही ठाउँबाट बेला बखतमा हेलिकप्टर सेवा सञ्चालन गरेर पाथीभरा तथा अन्य धार्मिक र पर्यटन गन्तव्यतिर यात्रुहरू उडाइन्छ। त्यहीँ नजिकबाट धरान शहर प्रष्ट देखिने। तर बिहानको समयमा धरानलाई बाक्लो तुवाँलोले ढाकेको।

होटेल फर्केर आज पनि रामकाजी र उनकी श्रीमतीसँग बसेर आगो ताप्दै बात मार्‍यौं। आज बिहानको नास्तामा कोदोको रोटी, तरकारी र अम्लेट अनि चिया। होटेलको बिल तिर्ने बेलामा रामकाजीकी श्रीमतीले आजको नास्ता उनीहरूको तर्फबाट भएको कुरा बताइन्।

चिनाजानीले यतिसम्मको सद्भाव ल्याउँदो रहेछ। सबै थोक व्यापार पनि होइन नि त! भाइचारा र मित्रताको भावना पनि त हुन्छ नि! त्यस्तै भयो। सबैसँग बिदा भएर हामी धरानतिर ओर्लिन थाल्यौं।

भानुचोकमा सदाझैंको भिडभाड र धरानबाट पहाड र तराई जाने बसका यात्रुको चहल पहल। धरानको पुरानो बसाइँको बेला मिर्मिरे उज्यालोमा भानुचोक हुँदै हिँड्न जाँदा त्यहाँका बसका खलासीहरूले विभिन्न गन्तव्यमा जाने यात्रुहरूलाई जबर्जस्ती बोकेरै भए पनि आफ्ना गाडीमा हुलेको देख्दा अचम्म लाग्थ्यो। यात्रु पनि केही छिन् को प्रतिरोध र चित्कार पछि चुपचाप बसमा बसेर आफ्नो गन्तव्य तताउने।

बसपार्क कै छेउमा पसल गरेर बसेका ध्वनीयन्त्रका आज ठूलै व्यवसायी बनिसकेका सुन्दर श्रेष्ठको ‘सुन्दर साउण्ड’मा पनि पसेँ। तर उनी कतै धरान बाहिर गएको समय परेछ। भानुचोकको बसपार्कमै रहेको एउटा दोकानमा काठमाडौँमा कोसेली बाँड्नको निम्ति कडा तथा नरम छुर्पी र दूधको चकलेट प्रसस्त किनेँ।

धरानकै अग्रणी शैलुङ डिपार्टमेन्टल स्टोरका भानु राईसँग पनि लामो समयपछिको भेट। घण्टाघरको पछाडि राँगाको सुकुटी पनि किनेँ। निकै महँगो हुन थालेछन् यस्ता कोसेलीहरू बढ्दो मागको कारण। हिजोआज छुर्पी र सुकुटी ठूलो परिमाणमा विदेशमा निर्यात हुँदा रहेछन्।

छुर्पी त अमेरिका तथा अन्य विकसित मुलुकमा कुकुरको खानाको रूपमा पनि निर्यात हुँदो रहेछ। सँगै रहेको तरकारी बजारमा गएर हरियो टिमुर, बेसार, डल्ले खुर्सानी, लामा लामा पात भएका रायोका साग, सिद्रा माछा, सुन्तला, गुन्द्रुक आदि किनेँ।

तरकारी बजारभन्दा अलिक पर चोयाको सामान पाइने ठाउँमा गएर चोयाका हम्कने पङ्खा र अन्य घरायसी खात्राक-खुत्रुक सामान किनेँ। अब भएन त धरानको कोशेली? यो सब सामान हाल्न फेरि साथी मेहरलालको दोकानमा गएर एउटा ब्याग नकिनी धरै पाइएन।

अनि उनैको स्कुटर लिएर हामी दुई भाइ बिजयपुरको डाँडा चढ्यौँ देवीदेवताको दर्शन गर्न। पञ्चकन्याको मन्दिरबाट तिर्थ शुरु भयो। बिजयपुरको कुनाको जङ्गलमा रहेको यो स्थलमा पञ्चकन्याको दर्शन गर्नुको साथै पिकनिक खेल्न पनि मानिसहरू जाने गर्दछन्।

सेनवंशी राजाहरूको दरवार यतै थियो रे। जंगलभित्र अझै पनि भताभुङ्गे राजाको दरवारको भग्नावशेष भेटिन्छ भन्छन् बुढापाकाहरू। नेपाल एकीकरणको समयमा बहादुर शाहको पल्टनले यही डाँडामा गोला-बारुद हानेर युद्ध छेडेका थिए रे किनकी त्यतिबेला आजको धरान त जङ्गल थियो अरे।

त्यहाँबाट बुढासुब्बाको मन्दिरको दर्शन गर्न गयौँ। प्रेमीहरूले त्यहाँको टुप्पा नभएको बाँसमा डोरो बाँधेर बर मागेमा पूरा हुन्छ भन्थे। तर करिव आठ वर्ष पहिले मेरी श्रीमती र म त्यहाँ गएको बेला निकै रोमान्टिक मुडमा डोरो बाँधेर दुवैको लामो आयुको लागि बरदान मागेका थियौँ।

तर उनलाई हामी त्यहाँ जानु भन्दा पहिले नै भयंकर रोगले चापिसकेको रहेछ। हामीलाई थाहै थिएन। धरानबाट त्यतिबेला फर्कने वित्तिकै उनलाई पेटको क्यान्सरको अन्तिम स्टेज भएको थाहा लाग्यो र कत्ति इलाज गर्दा पनि उनलाई बचाउन सकिएन। भगवानको लिला अपरम्पार। तर पनि हाँसेर जीवनयात्रा एक्लै भए पनि तय गर्दैछु।

बुढासुब्बाको मन्दिरबाट दन्तकालीको मन्दिर। सतिदेवीको शवलाई महादेवले ढुन्मुनिँदै बोकेर सबै लोक घुम्दा दाँत सोही मन्दिर भएको ठाउँमा पतन भएको थियो रे। त्यहाँको पुजारीले एकचोटी एउटा मान्छे जत्रो दाँतको आकृतिको दर्शन गराउनु भएको थियो।

दन्तकालीलाई साक्षातको देवी मानेर पूजा गरिन्छ। भगवतीको दर्शन पछि हामी पिण्डेश्वर महादेवको मन्दिरमा गयौँ। दर्शन गर्‍याैं। श्रावणका सोमबारहरूमा कोशी–चतराबाट जल लिएर नांगो खुट्टा गेरु वस्त्रमा हिँड्दै बोलबम भन्दै आएर भक्तजनहरूले पिण्डेश्वर महादेवलाई जल चढाउने गर्छन्। यस्ता भक्तजनको संख्या लाखौँमा हुन्छ। राजा र राणा प्रधानमन्त्रीहरूले चढाएका विशाल घण्टाहरू सो परिसरमा अझै छँदैछन्।

मन्दिरहरूको दर्शन सकिए पछि हाम्रो यसपालीको यात्रा करिव करिव सकिने स्थितिमा पुग्यो। एकजना अति विनम्र मित्रले धरानबाट विराटनगर विमानस्थल जानको निम्ति आफ्नै मोटरगाडी पठाएका थिए। सोही गाडीमा हामी निकै आरामका साथ धरानलाई यसपालीलाई बाइबाइ गर्दै चौडा सडकमा घुइँकिँयौँ।

तिनकुनेको चारकोशे झाडीमा अवस्थित विश्वकर्माको मन्दिरलाई नमन गर्दै त्यहीँ अन्तिम संस्कार गरिएका हाम्रा परम दाजु रमेश राईको समाधिमा नियालेर शिर झुकाउँदै शोकमग्न अवस्थामा तरहरा, इटहरी, खनार र दुहबी हुँदै विराटनगर विमानस्थल पुग्यौं। कुहिरोले गर्दा विमानस्थल नखुलेकोले दिउँसोसम्म एउटा पनि उडान नभएकोले विमानस्थलमा खचाखच भिड।

विमानस्थलको क्याफटेरियामा पुगेर बल्ल बल्ल बस्ने ठाउँ पायौँ। कफी मगाएर चुस्की लिँदै थकान मेट्ने प्रयत्न। विमान नआएको झोँक भन्ने कि खुसियालीमा केही युवाहरू वियरको मज्जा लिइरहेका। विगतको सम्झना आयो। हामी पनि त्यस्तै गथ्र्यौं कुनै बेला।

धरान शहर काठमाडौँ र पोखरापछि सबैभन्दा बढी वियर र मदिराको खपत हुने शहर। पछिल्लो जनआन्दोलनको १९ दिन नेपाल पुरै बन्द भएको बेलामा धरानमा हाम्रो काम वियर पिएर बस्ने बाहेक केही थिएन।

धरानमा यति धेरै मदिराको स्टक हुँदो रहेछ कि १९ दिनसम्म नयाँ आपूर्ति नहुँदा पनि हामीलाई वियरको अभाव भएको थिएन। यसो हुनुमा धरानको उच्च खपत र माथिल्ला पहाडहरूमा विभिन्न सामान आपूर्ति गर्ने मुख्य केन्द्र पनि धरान भएकोले होला। खैर।

आखिर विमानस्थल खुल्ने वित्तिकै लहरै झण्डै एक दर्जन जहाजहरू अवतरण गर्ने र उड्ने क्रम जारी रह्यो र हाम्रो जहाज पनि आइपुगेकोले हामी सकुशल काठमाडौं पुग्न पायौं।

-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.