निबन्ध : हुस्सुभित्र हुमपोखरीको सौन्दर्य
हुस्सुभित्र गुटुमुटु हुमपोखरीको दृश्य-सौन्दर्यमा म यतिबेला विगत दिनतिर फर्किदैछु। हुमपोखरी प्रकृतिको एक सुन्दर शिर! प्रायः भुईकुहिरोको ओशले सिञ्चित स्थान। मेरो गाउँको शिर। मेरो ठाउँको शोभा। उकालोमाथिको सानो चौर, घनाजंगल र पोखरीको संरचना!
हुमपोखरीमा जो पुग्छन् उकालो चढेरै पुग्छन्। मानेभन्ज्याङ कुहिभीरबाट आउनेहरू मात्रै हो ओरालोको बाटो झरेर त्यहाँ आइपुग्ने। अन्यथा हुमपोखरीमा ओरालो झरेर पुग्न सकिँदैन। निकै उचाइको यो ठाउँबाट तल चिसापानी बजार, गाउँघर देखिन्छ। त्यहाँभन्दा पर निगालबास, त्यसभन्दा अझ पर दिप्लुङका गाउँघर र डाँडाकाँडाहरू।
हुमपोखरीको थाप्लोमा पुगेर जब म प्रकृतिलाई नियाल्छु र आफूलाई छाम्छु त्यतिबेला म जन्मेको गाउँ, मेरो जन्मथलोको प्रेमले म वशीभूत हुन्छु।
पुग्नकै लागि उकालो चढ्नुपर्ने ठाउँहरू सधैं अनौठो लाग्छ मलाई। जीवनका रेखाहरू जस्तै ती बाटाहरू बाङ्गिएका नागबेलीझैँ घुमेका, कुनै डोरीझैँ तन्किएका, कहिले बिजुलीका तार गुजुल्टिएका जस्तै, कहिले थकाइले छोपिएका, कहिले हुस्सुले छपक्कै ढाकिएका।
यस्तै एक दिन, म हुमपोखरीको यात्रामा निस्किएँ। एक यस्तो पोखरी जहाँ पुग्न सकिन्छ केवल उकालो चढेरै। मानौं, पृथ्वीको हृदयतिर होइन, आकाशको न्यानो उचाइतिर पाइला टेक्न निस्किएको थिएँ।
हुमपोखरीमा पुग्दा मैले थाहा पाएँ- शरीरले उकालो चढे पनि मनले त एक किसिमको तलतिर झर्ने अनुभूति प्रदान गरिदिएको थियो। किनकि त्यहाँबाट हेर्दा तल चिसापानीको बजार, चिसोपनभित्र लुकेको घामजस्तो गाउँहरूको दृश्य।
अझ तल खनियाबास, निगालबास, जहाँ बास बस्नेमात्र होइन, निगालोले जीवन बुन्नेहरू बास बस्छन्। त्यसपछाडि जन्तेढुंगा, दिप्लुङ! कति सरल उच्चारण, तर कति गहिरो जीवन र संस्कृति बोकेको नाम।
दिप्लुङका डाँडाहरू ओइलिएको फूल जस्तै होलान् भन्ने लाग्थ्यो, तर त्यहाँको हरियालीले मलाई चकित बनायो। उत्तिसका जंगल मात्रै होइन कटुस, चिलाउनेका रुखहरूले भरिभराउ घनाजंगलको जुरेथम्का पहाड ! ढाक्रेहरूले ढाकर बिसाएर सुस्ताइरहेको चौतारी।
बाटै छेउको ऐंसेलु झ्याङमा ऐंसेलु टिप्दै खान झुम्मिरहेका बटुवा, गोठालाहरू। काफलको रुखमा चढेर हातै कलेजी, मुखै कलेजी रङ हुँदा पनि ख्याल नगरी एकोहोरो बनेली फलको स्वादमा झुत्तिखेलिरहेका यात्रीहरू !
हुमपोखरी आफैं एउटा स्वप्नजस्तो पोखरी हो। पहाडको गर्भ–गृहमा पनि होइन। तराईको जस्तै समथर पनि होइन। बरु एकदमै अडिग पहराको माथि, एउटा नीलो शीशा राखिएको जस्तो।
हावाले त्यस पोखरीको पानी चलायमान बनाउँछ, तर त्यसको गहिराइमा अडिगपन कायमै हुन्छ। मानौं, यो पोखरीको पानीले समयको चित्र कोरेको छ। त्यहाँ परम्परागत मान्यता, आस्था, विश्वास र धार्मिक मूल्यलाई सबैले स्वीकारेका छन्।
हुमपोखरीमा वर्षमा दुईचोटि मेला लाग्छ। मेलामा बराहपोखरी मेलाबाट फर्किएका धामीझाक्रीको नाच र ढोलझ्याम्टाको गुञ्जनले पर–परका गाउँघरसम्म गुञ्जायमान हुन्छ। मेलामा स्थानीय उत्पादनका खानेकुरा र घरायसी सामानको बजार लाग्छ।
खेलतमासाको उस्तै भीड हुन्छ। मेला भर्न र मेला हेर्न आएका मान्छेको ओइरो अचाक्लीको हुन्छ। मानौं चिसापानी, कात्तिके, काहुले, सालम्बु, बोपुङ, छेतुवा, दिप्लुङ, मौवापोटे, घोर्ले, पाथिभारा, निगालबास आदि गाउँका स्थानीयहरू रङरौसमा रमाइरहेका हुन्छन्।
अरू त अरू हुमपोखरी मेलालाई भनी साँचेर राखेको कोदोको तीनपाने रक्सी, जाँडको असली निगार, घरतरुल, मेहनतले बुनिएका हर्पे, फिपी, घुम, नाङ्लोडालो, कोदालो, हँसिया आदि बेच्न ल्याइएको हुन्छ।
त्यहाँ उभिँदा लाग्छ, म केवल एउटा भूगोलमा होइन, भावनाको उचाइमा पुगेको छु। प्रकृतिको सौन्दर्यमय शिखरमा उभिएर तल-तलका दृश्यहरूमा आँखा डुलाइरहेछु। त्यतिबेला मलाई आत्मीय बनाउँछन्- घर सम्झाउने, गाउँ देखाउने, बाल्यकालीन दृश्यहरू चलचित्रझैं आँखामै उपस्थित गराउने पलहरू !
विगत दिनहरूसँगको साक्षात्कारमा म विस्मृत हुनपुग्छु। पुरानो, धुमिल तर मगमग सुगन्धका सम्झानाले म आफैंलाई बिर्सिन पुग्छु। माथिको नीलो आकासले चाहिँ मलाई बताउछ- ‘तिमी अहिले केवल यात्रु होइनौ, साक्षी पनि हौ। यो सौन्दर्यको, यो मौनताको, यो पहाडी हुमपोखरीको।’
दृश्यहरू कतै टाढा कठिन यात्रा हिँडेर देखिने परिवेश मात्रै हुँदैन रहेछ। कहिले आफ्नै घरगाउँ नजिकैको ठाउँ पनि मनोहर लाग्दो हुँदोरहेछ। मेरो प्यारो हुमपोखरीले मलाई यही कुरा सिकायो, कि उकालो चढेर मात्रै पुगिन्छ सुन्दरताको काखमा। अनि त्यो सुन्दरता केवल दृश्य होइन, अनुभूति पनि हो। त्यसले हामी सबैलाई केही बेरको लागि भए पनि साँचो सौन्दर्यको दृश्यपानमा मन्त्रमुग्ध बनाउँछ।
वास्तवमा हुमपोखरी आकाशमै पोखिएको सौन्दर्य हो। धरतीमा फैलिएको जंगल र हरियो चौर अनि पोखरीको सुन्दरताको पृथक संरचना हो। पहाडको यति उचाइमा पनि पानीको जलमग्न पोखरीको अस्तित्व रहस्यको विषय पनि हो। यही पोखरीमा जीवनका घाम लाग्छ। पानी पर्छ। धेरै समय भुईकुहिरोले ढाकेर हुमपोखरीलाई ओसिलो पारी गुम्स्याएरै राख्छ।
उकालोको कथा सधैं थकाइसँग गाँसिएको हुन्छ, तर हुमपोखरीको उकालो भने थकाइको विश्रामसँगै उत्सवको रूप बन्छ। म जति उकालो चढ्दै जान्छु, उति जीवनले गहिरो सास फेरेजस्तो लाग्छ। सासको तालसँगै बगेका बुट्यान, फुरुङ्ग भएका फुलहरू र मौनता बोकेको आकाश ! सबै मिलेर तयार पार्छन् स्वागतपत्र, जुन हुमपोखरीले हर्षसहित थमाउँछ मलाई।
हुमपोखरी, निलो सपना, हरियो काख र शान्तिको सरोवर हो। चिसो हावाले चुइँक्याएको बाँसुरीजस्तो पोखरीको सतहले मलाई हेर्छ– आफ्नै प्रतिविम्बमा हराइदिने गरी। मानौं, पृथ्वी र आकाशबीच एउटा सन्धि भएको छ यहाँ, जहाँ सौन्दर्य मौन भएर बोलेको हुन्छ। दर्शकहरू चुपचाप तिनलाई प्यासी आँखाका तीखो हेराइहरूले तन्ततनी पिउँछन्।
त्यस थलोबाट तल हेर्दा देखिन्छ- चिसापानी। पहाडको छायामा हाँसिरहेको सानो ग्रामीण बजार ! त्यहाँ जीवनको चहलपहल अनि छेउछाउमा घामले मुन्टो निहुराइरहेका खरले छाएका घरहरू। निगालबास नामैमा हरियाली।
हुमपोखरीबाट त्यो हरियाली साँच्चिकै जादुजस्तो देखिन्छ। पर दिप्लुङ। डाँडाको काखमा बसेका ती गाउँहरू कुनै लोककथाका चित्रहरूजस्ता लाग्छन्। खासमा तिनलाई पढिएका होइन, अनुभूति गरिएका परिकल्पनाका परीकथा हुन्।
आकाश यहाँ नजिक लाग्छ, चुरोटको धुवाँजस्तो मस्तिष्कमा फैलिन्छ बादल। कहिले ती बादलहरू माथि–माथि पामाखाम भञ्ज्याङ, मानेभन्ज्याङ काटेर आउँछन्। कहिले मुन्तिरका टाकुरामा घोप्टिन्छन्। एकाएक लाग्छ- यो हुमपोखरी त केवल पोखरी होइन, यो त देवताको आँखा हो, जसले प्रेम र करुणाले भरिएको आँखाले हाम्रो प्यारो धर्ती नियालिरहेको छ। हाम्रो गाउँघरमाथि मायालु नजरले हेरिरहेको छ।
जब म त्यो पोखरीको छेउ उभिएर वरिपरि नजर घुमाउँछु, तब हर्षको एउटा लहर भित्रैदेखि उठ्छ। किनकि यस्ता दृश्यहरू केवल देख्न पाइँदैन, महसुस गर्न पाइन्छ। अनि त्यो महसुसको नाम हो ‘हर्ष’। यो कला जस्तै शब्दमा मात्रै पूर्ण बन्दैन। कागजमा समेटिएर मात्रै पनि यसको अर्थ ‘अर्थपूर्ण’ हुन सक्दैन। हुमपोखरीकै थाप्लोमा पुगेर मनको आँखाले महसुस गर्नुपर्छ।
हुस्सुले सधैं ओझेलमै परिरहेझैं हुमपोखरी साँच्चै ओझेलमै छ। यद्यपि यही ओझेलमा रहेको हुमपोखरीसँग मेरो जीवनका धेरै सम्झनाहरू छन्। किनभने हुस्सुभित्र हुमपोखरीको सौन्दर्य मेरो प्रेरणा पनि हो।
















Facebook Comment