विद्यमान राजनीतिक प्रणालीको विकल्प खोज्न हुन्न: अध्यक्ष नेपाल

डिसी नेपाल
१५ जेठ २०८२ २३:४४
116
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लामो समयदेखिको जनसंघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको चाहनाअनुसार जनप्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने विद्यमान राजनीतिक प्रणालीको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको बताए।

अहिले राजतन्त्र फर्काउनेबारे कुरा उठिरहेको बताउँदै उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र होइन। वंशको शासनले प्रतिस्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्न अवरोध गर्दछ।’

अध्यक्ष नेपालले आम जनताको चाहना बमोजिम नै यो परिवर्तन आएको दाबी गर्दै परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरे। मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्न सम्भव नरहेको उल्लेख गर्दै उनले समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणाका आधारमा जनताको आर्थिक समृद्धि तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा उत्पन्न सबै प्रकारका सङ्कट समाधानका लागि लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकजुट हुन आग्रह गरे। मुलुकमा कृषि, पूर्वाधार, औधोगिक क्षेत्रमा लगानी वृद्धि गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले त्यसले ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्न सहयोग पुर्‍याउने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.